कर्णाली नदीमा हाम फाल्दा एक स्थानीय बेपत्ता, खोजी कार्य जारी
मातृभूमी संवाददाता । १९ भाद्र दैलेख
कर्णाली नदीमा हाम फाल्दा एक स्थानीय बेपत्ता भएका छन् । दैलेख आठबिस नगरपालिका ५ किट्टु भिरबाट कर्णाली नदीमा हाम फाल्दा एक स्थानीय बेपत्ता भएका हुन् । आठबिस नगरपालिका ५ का अन्दाजी ५२ वर्षीय लिलाराम जैसी बेपत्ता भएको र उनको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालयले राकम कर्णालीले जनाएको छ ।
विहीवार बिहान करिब ७ बजे किट्टु भिरबाट कर्णाली नदीमा हाम फालेको भन्ने सूचना प्राप्त भए लगत्तै प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्रकुमार केसीको नेतृत्वमा सात जनाको प्रहरी टोली घटना स्थल गएको थियो । घटना स्थलमा पुगेको प्रहरी टोलीले कर्णाली नदीको आसपासका क्षेत्रमा बेपत्ता जैसीको खोजी सुरु गरेको थियो । नदीको बहाव तीव्र रहेका कारण खोजी कार्य चुनौतीपूर्ण भए पनि प्रहरीले सम्भावित क्षेत्रमा निरन्तर खोजी गरिरहेको प्रहरी बरिष्ठ नायब निरीक्षक केसीले वताए ।
जैसी नदीमा हाम फालेपछि हालसम्म फेला नपरेको र उनको खोजी कार्य निरन्तर भैरहेको केसीले वताए । खोजीका क्रममा नदी किनार, आसपासका सम्भावित स्थान तथा पानीको बहावसँगै घटना स्थलवाट ५/६ किलोमिटर दक्षिणतर्फ समेत निगरानी बढाइएको केसीले वताए । घटनाबारे थप विवरण तत्काल खुल्न नसकेको उनले वताए ।

