डुङ्गेश्वर–२ मा तीज विशेष कार्यक्रम, पुरस्कार रकम बाढीपीडितलाई सहयोग
जित बहादुर थापा/रोशन २० भाद्र दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । डुङ्गेश्वर गाउँपालिका २ को आर्थिक सहयोग तथा फूलबारी सामुदायिक सिकाइ केन्द्रको समन्वयमा जनकल्याण माध्यमिक विद्यालय, सेर्माकोटको प्राङ्गणमा सम्पन्न भएको हो ।
कार्यक्रममा डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानेले हरितालिका तीजको शुभकामना दिँदै चाडपर्वको मौलिकता र गरिमा जोगाउन सबै एकजुट हुनुपर्ने बताइन् । उनले महिलाको अधिकार सुनिश्चित भए पनि कर्णालीका महिलाहरू अझै विभिन्न सामाजिक समस्याबाट प्रभावित रहेकाले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताइन् ।
उनले महिलाहरूलाई यस्ता कार्यक्रममार्फत आफ्ना अधिकार, स्वास्थ्य, शिक्षा र सामाजिक विषयमा सचेत गराउन सकिने उल्लेख गर्दै मौलिक संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व भएको उपाध्यक्ष न्यौपानेले बताइन् । पछिल्लो समय पुराना तीजका भाका तथा मौलिक संस्कृति हराउँदै गएकाले त्यसको संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
फूलबारी सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष मानबहादुर बिष्टले तीज विशेष कार्यक्रमले जिल्लामा लोप हुँदै गएका पुराना संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताए । तीजका गीत तथा सांस्कृतिक प्रस्तुतिलाई मनोरञ्जनसँगै सामाजिक चेतना अभिवृद्धिको माध्यम बनाउन सकिने उनको भनाइ थियो । पुराना संस्कृति संरक्षणका लागि स्थानीय नागरिक, समुदाय र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको अध्यक्ष बिष्टले बताए ।
डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष यामबहादुर बिष्टले तीज महिलाको पर्व भएकाले तीजका गीतमार्फत महिलाले आफ्ना अधिकार र समस्याका विषयमा आवाज उठाउनुपर्ने बताए । यस्ता प्रतियोगिताले समाज रूपान्तरण तथा महिला सशक्तीकरणमा योगदान पुर्याउने भन्दै उनले तीनै तहका सरकारले महिला सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए । वडाध्यक्ष बिष्टले आगामी असोज २६ गतेदेखि ३० गतेसम्म अध्यक्ष कप भलिबल तथा सांस्कृतिक महोत्सव आयोजना गरिने जानकारी समेत दिए ।
लाँकुरी स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण बिष्टले तीजजस्ता सांस्कृतिक कार्यक्रमलाई स्वास्थ्य तथा सामाजिक चेतनासँग जोड्न सकिने बताए । विशेषगरी पोषण, सरसफाइ, महिला स्वास्थ्य तथा स्वस्थ जीवनशैलीका विषयमा गीत र सांस्कृतिक प्रस्तुति मार्फत समुदायमा प्रभावकारी सन्देश पुर्याउन सकिने उनको भनाइ थियो । उनले महिला तथा समुदायको स्वास्थ्य सुधारका लागि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रमुख बिष्टले बताए ।
कार्यक्रम अर्न्तगत पोषण तथा सरसफाइ सम्बन्धी तीज गीत प्रतियोगितामा देवस्थान आमा समूह प्रथम, प्रगतिशील स्वास्थ्य आमा समूह द्वितीय, लालीगुराँस स्वास्थ्य आमा समूह तृतीय र सयपत्री आमा समूहले सान्त्वना स्थान हासिल गरेका थिए । विजेता समूहलाई क्रमशः ६ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको वडा सचिव दुर्योधन कुमार वि.सी.ले जानकारी दिए । प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई प्रोत्साहन स्वरूप १ हजार रुपैयाँ समेत प्रदान गरिएको उनले बताए ।
पुरस्कार रकम विपद् कोषमा सहयोग
कार्यक्रममा सांस्कृतिक मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वको उदाहरण समेत प्रस्तुत गरिएको छ । प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेको सयपत्री आमा समूहले पुरस्कार बापतको रकम १ हजार ५ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पुरस्कार रकम कोषमा हस्तान्तरण गरिएको समूहले जनाएको छ ।
प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला आमा समूहले गरेको यो पहल सामाजिक उत्तरदायित्वको उदाहरण बनेको । सांस्कृतिक कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी विपद् प्रभावित समुदायप्रति सहयोग, सद्भाव र ऐक्यबद्धता प्रकट गर्ने माध्यमका रूपमा समेत अघि बढाइएको भन्दै आयोजक तथा सहभागीहरूले सयपत्री आमा समूहको पहलको प्रशंसा गरेका छन् ।

