बाढी पिडितलाई फूलबारी विद्या मन्दिरको १ लाख ४५ हजार सहयोग

मातृभूमी संवाददाता । २४ भाद्र दैलेख
भोटेकोशी बाढी पिडितलाई दैलेखको फूलबारी विद्या मन्दिरले १ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन मार्फत विद्यालयले बाढी पिडितलाई उक्त रकम प्रदान गरिएको हो । प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको विद्यालयका संस्थापक सुवास कुमार थापाले जानकारी दिएका छन् ।
विद्यालयका संस्थापक थापाले विपद्को समयमा निजी क्षेत्रले पनि आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताए । उनले बाढी पहिरो जस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पिडामा मलम लगाउन सरकारसँगै निजी क्षेत्र, संघसंस्था तथा नागरिक समाजले पनि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । संस्थापक थापाले देश संकटमा परेको समयमा निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा समेत निरन्तर योगदान दिँदै आएको बताए ।
यद्यपि, निजी क्षेत्रले संकटका बेला राज्यलाई सहयोग गर्दै आए पनि राज्यले निजी क्षेत्रलाई सधैँ विभेदपूर्ण दृष्टिले हेर्ने गरेको उनले गुनासो गरे । निजी क्षेत्रलाई राज्यको विकास साझेदारका रूपमा हेर्नुपर्ने भन्दै उनले निजी विद्यालय तथा संस्थालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए ।
फूलबारी विद्या मन्दिरको सहयोगले बाढी प्रभावित परिवारको राहत तथा पुर्नःस्थापनामा केही भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । विपद्को समयमा निजी क्षेत्रबाट गरिएको यस प्रकारको सामाजिक सहयोगले अन्य व्यक्ति तथा संस्थालाई समेत पीडितको सहयोगमा जुट्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *