डुङ्गेश्वरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित

जितबहादुर थापा (रोशन) । २४ भाद्र दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीहरू सेवा सुविधाको विषयमा आन्दोलित भएका छन् । नेपाल सरकारको निर्णयानुसार वृद्धि भएको पारिश्रमिक पूर्ण रूपमा पाउनुपर्ने र खाइपाई आएको रकमबाट प्रतिव्यक्ति ५ हजार कटौती गरिएको भन्दै शिक्षक–कर्मचारीहरू आन्दोलित भएका हुन् ।
त्रिवेणी संगम माध्यमिक विद्यालय चुप्राका लेखा सहायक जयप्रसाद भण्डारीले आफूहरुले तलबबाट प्रति व्यक्ति ५ हजार रुपैयाँ कटौती गरिएको भन्दै कटौती भएको रकम तत्काल फिर्ता गर्न माग गरेको जानकारी दिए । नेपाल सरकारको निर्णय अनुसार भएको तलब वृद्धिको सुविधा स्थानीय तहबाट समेत कार्यान्वयन हुनुपर्ने माग राखेको उनले बताए । तलब कटौतीको आधार र निर्णयबारे गाउँपालिकाले स्पष्ट जानकारी दिनुपर्ने लेखा सहायक भण्डारीको माग छ ।
सीता माध्यमिक विद्यालय अवलपराजुलका भक्त बहादुर थापाले न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीको तलबबाट थप रकम कटौती गर्नु अन्यायपूर्ण भएको बताए । सरकारले वृद्धि गरेको पारिश्रमिक समेत पूर्ण रूपमा नपाउने र खाइपाई आएको रकम समेत कटौती हुने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ ।
यस्तै सोही विद्यालयका खड्क कुमारी शाहीले कर्मचारीको तलबबाट रकम कटौती गर्दा त्यसको स्पष्ट आधार र निर्णय कर्मचारीलाई जानकारी गराउनुपर्ने बताईन् । सरकारले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरे पनि त्यसको सुविधा पाउनुको सट्टा उल्टै तलब कटौती हुनु दुःखद भएको उनको भनाइ छ ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पोखरीपाटाका विष्णा कुमारी रानाले विद्यालय सञ्चालनमा बाल विकास सहजकर्ता, कर्मचारी तथा सहयोगीहरूको महत्वपूर्ण भूमिका रहेको बताईन् । तर आफूहरूको श्रम अनुसारको सुविधा नदिइएको उनको गुनासो छ ।
आन्दोलनरत शिक्षक–कर्मचारीहरूले गाउँपालिकासँग तत्काल वार्ता गरी समस्या समाधान गर्न माग गरेका छन् । उनीहरूले तलब कटौतीको निर्णय सार्वजनिक गर्न, कटौती भएको रकम फिर्ता गर्न तथा नेपाल सरकारको निर्णय अनुसार वृद्धि भएको पारिश्रमिक पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।
यसैबीच, डुङ्गेश्वर गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनामा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय सहायक, बालविकास सहजकर्ता र विद्यालय सहयोगीहरूको संयुक्त समितिले पारिश्रमिक कायम गर्न माग गर्दै गाउँ कार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र पेस गरेको गाउँपालिकाका प्रवक्त पर्वलाल शर्मा जैसीले जानकारी दिए ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ सम्म संघीय सरकारको अनुदान र गाउँपालिकाबाट थप रकम गरी उनीहरूलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको उनले बताए । विद्यालय सहायकले संघीय सरकारको अनुदानबाट मासिक १५ हजार रुपैयाँ र गाउँपालिकाबाट थप ६ हजार ६ सय २५ रुपैयाँ गरी २१ हजार ६ सय २५ रुपैयाँ पारिश्रमिक पाउँदै आएको उनको भनाई छ ।
त्यस्तै, बालविकास सहजकर्ताले संघीय अनुदानबाट १२ हजार रुपैयाँ तथा गाउँपालिकाबाट थप ५ हजार ५ सय २५ रुपैयाँ र विद्यालय सहयोगीले संघीय अनुदानबाट १० हजार रुपैयाँ तथा गाउँपालिकाबाट थप ७ हजार ५ सय २५ रुपैयाँ पाउँदै आएको प्रवक्त जैसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *