२२ वर्षपछि शव उत्खनन्, कंकाल भेटिएपछि दाहसंस्कार

मातृभूमी संवाददाता । २६ भाद्र दैलेख
तत्कालिन माओवादी द्वन्द्वका क्रममा मृत्यु भएको २२ वर्षपछि दैलेखका एक व्यक्तिको कंकाल भेटिएको छ । कंकाल भेटिएपछि परिवारले धार्मिक परम्परा अनुसार दाहसंस्कार गरेका छन् । ठाटीकाँध गाउँपालिका २, (साविक लकान्द्र गाविस ५) का बीरेन्द्र बिष्ट ‘धिरेन्द्र’ को कंकाल नौमुले गाउँपालिका १, तोलीको जंगलमा भेटिएको हो । बीरेन्द्र तत्कालीन माओवादीमा जनमुक्ति सेनाको सञ्चारमा कार्यरत थिए ।
२०६१ साल असार १८ गते नौमूले गाउँपालिका ३ द्धारी (साविक द्वारी गाविस)बाट कार्यक्रम सकेर नौमूलेतर्फ फर्किरहेका बेला नेपाली सेनासँग दोहोरो भिडन्त हुँदा उहाँको मृत्यु भएको परिवारले जनाएको छ । बीरेन्द्रसहित पाँच जनाको शव तोलीको जंगलछेउमा रहेको चौतारो नजिक गाडिएको थियो । गाडिएका पाँच जनामध्ये दुई महिला र तीन पुरुष रहेको आफन्तले बताएका छन् ।
शव गाडिएको स्थान यकिन हुन नसकेपछि २२ वर्षसम्म बीरेन्द्रको अन्तिम संस्कार गर्न नपाएको परिवारले जनाएको छ । लगातारको झरीकाबीच बीरन्ेद्रका भाइहरू र आफन्तले तोलि पुगेर शब उत्खनन् गर्ने क्रममा मानव अस्थिपञ्जर फेला पारेका हुन् । अस्थिपञ्जरसँगै भेटिएको कपडाका आधारमा उक्त शब बीरेन्द्रकै कंकाल भएको परिवारले पहिचान गरेको हो ।
बीरेन्द्रका भान्जा दिनेशकुमार थापाका अनुसार मामाले २२ वर्षअघि लगाएको कपडा जस्ताको तस्तै भेटिएकाले पहिचान गर्न सहज भएको बताए । कंकाल घर लगेपछि दाजु र अंकलले दागबत्ती दिएर धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको भन्जा थापाले बताए ।
२२ वर्षअघि छोराको मृत्युको खबर सुने पनि अन्तिम संस्कार गर्न नपाएका ६८ वर्षीय बुवा मानबहादुर बिष्ट र आमा मोतिकला बिष्टले छोरालाई अन्तिम बिदाइ गर्न पाएको बताए । आफन्तका अनुसार चौतारो नजकि गाडिएका पाँच जनामध्ये दुई जनाको शव यसअघि नै उत्खनन् गरिएको थियो । एक जनाको शव गत वैशाखमा उत्खनन् गरिएको थियो भने अहिले बीरेन्द्रको कंकाल भेटिएको हो ।
‘प्रकाश’ नाम गरेका एक जनाको शव भने अझै त्यहीँ रहेको बताइएको छ । प्रकाश कहाँका व्यक्ति हुन् भन्ने यकिन जानकारी नभएको जनाईएको छ । तत्कालीन समयमा सँगै काम गरेका पार्टीका नेता र स्थानीयको सहयोगमा शवहरू तोलिको जंगल छेउमा रहेको चौतारो नजिक गाडिएको र अहिले पनि उनीहरूकै सहयोगमा उत्खनन् गर्न सहज भएको बीरेन्द्रका भान्जा थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *