अविरल वर्षापछि डुङ्गेश्वर–२ मा ६ घरमा क्षति, वडाध्यक्ष रातभर पहिरो पन्छाउन खटिए

मातृभूमी संवाददाता । २६ भाद्र दैलेख
अविरल वर्षासँगै पहिरो खस्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका २ उम गहिरा टोलमा ६ वटा घरमा क्षति पुगेको छ । लगातारको वर्षाका कारण बस्ती आसपासको जमिन कमजोर बनेपछि पहिरो खस्दा स्थानीयका घर तथा संरचनामा क्षति पुगेको हो ।
अविरल वर्षाका कारण स्थानीय ५९ वर्षीय प्रेम कसेरा, ४५ वर्षीय खडकबहादुर विक, ५० वर्षीय जगतबहादुर थापा, ३२ वर्षीय लोकेन्द्रबहादुर थापा, ५९ वर्षीय हरिशंकर थापा र ३५ वर्षीया माया खत्रीको घरमा क्षति पुगेको वडाध्यक्ष यम बहादुर विष्टले जानकारी दिए ।
वर्षाका कारण घरमा क्षति पुग्नुका साथै झाडा खोला सिँचाइ कुलोमा समेत क्षति भएको वडाध्यक्ष विष्टले बताए । लगातार वर्षा भइरहेकाले थप पहिरो खस्ने तथा अन्य संरचनामा समेत क्षति पुग्न सक्ने जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको उनको भनाइ छ ।
क्षतिग्रस्त घरमध्येका स्थानीय माया खत्रीले लगातार पानी परिरहेकाले घर आसपासको जमिन कमजोर बन्दै गएको बताइन् । अर्का स्थानीय जगत बहादुर थापाले बस्ती तथा सडक आसपासको भू–भाग कमजोर भएकाले सामान्यभन्दा बढी वर्षा हुँदा घर तथा अन्य संरचनामा क्षति पुग्ने जोखिम बढेको बताए ।
स्थानीयका अनुसार उम गहिरा टोल आसपासमा वर्षायाममा पहिरो तथा पानी निकासको समस्या दोहोरिने गरेको छ । बस्ती र सडक आसपासको कमजोर भू–भागका कारण ठूलो वर्षा हुँदा पहिरोको जोखिम बढ्ने गरेको स्थानीयको भनाइ छ ।
यसैगरी, पहिरो खसेपछि स्थानीयवासीको उद्धार तथा जोखिम न्यूनीकरणका लागि वडाध्यक्ष विष्ट स्वयं रातिसम्म घटनास्थलमै खटिएका थिए । बिहीबार दिउँसो करिब २ बजेतिर पहिरो खसेपछि उम गहिरा टोलका जगत बहादुर थापा लगायत स्थानीय ६ जनाका घर जोखिममा परेका थिए । पहिरोले घरको आँगन तथा आसपासको क्षेत्रमा माटो थुप्रिएपछि स्थानीय समस्यामा परेका थिए ।
भारी वर्षा भइरहेकै अवस्थामा वडाध्यक्ष विष्ट राति करिब २ बजेसम्म घटनास्थलमै बसेर स्थानीयवासीसँग मिलेर पहिरो पन्छाउने तथा थप क्षति हुन नदिन आवश्यक व्यवस्थापनमा जुटेका थिए । विपद्का बेला जनप्रतिनिधि कार्यालयमा सीमित नभई नागरिकको घरदैलोमै पुग्नुपर्ने भन्दै उनले स्थानीयको सुरक्षालाई पहिलो प्राथमिकता दिएको बताए ।
पहिरोका कारण घर तथा आसपासका क्षेत्रमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको बताइएको छ । विपद्को समयमा राति समेत घटनास्थलमा पुगेर पहिरो पन्छाउन सहयोग गरेको भन्दै स्थानीयवासीले वडाध्यक्ष विष्टको सक्रियताको प्रशंसा गरेका छन् । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *