“गाउँ-गाउमा लुट, व्यापारीलाइ छुट”

मातृभूमी संवादाता । १९ फागुन दैलेख
दैलेखको आठबीस नगरपालिका वडा नं. ६ का अर्जुन खनाल सोही नगरपालिकाको खिड्कीज्यूलामा नमस्तेको रिचार्ज कार्ड किन्न गए । उनले एक सयको रिचार्ज कार्ड किन्दा एक सय दश रुपैंया बुझाउनु प¥यो । ‘यहाँ हामीले पचास रुपैयाँको रिचार्ज कार्ड किन्दा ६० रुपैयाँ बुझाउने गरेका छौं ।’ उनले भने, ‘जति सुविधा भएपनि गरिबलाई कसैले बाँकी राख्दैनन्, लुटन सके लुट कान्छा भन्ने गीत गाउँघरमा लागू भएको छ ।’
आठबीस नगरपालिका वडा नं. ५ का भिम शाहीले रु दशमा पाइने चाउचाउको बजारमै रु पन्ध्र तिर्छन् । दश रुपैयाँको तीन वटा पाइने मेघाश्री खिडकीज्यूलामा दुई वटा मात्रै
पाउँछन् । आठबीस नगरपालिकाका यी दुई उदाहरण मात्र हुन् । बजारको सहज पहुँच पुगेपनि अझै पनि स्थानीयहरू नियामक निकायबाट नियमित अनुगमन नगरिँदा लुटको शिकार बन्न पुगेका छन् । आठबीस नगरकै वडा नं. ३ का भिम चन्द स्थानीय सरकारको बेवास्ताका कारण बजारमा मनपरितन्त्र चलेको बताउँछन् । ‘कोही कसैले मूल्य निर्धारण गर्ने वा अनुगमन गर्ने काम गरेका छैनन ।’ उनले भने, ‘गाउँ–गाउँमा अहिले हरेकको घरमा मदिरा राखिएको छ । नाम मात्रैको नगरपालिकाले मदिरा नियन्त्रण गर्ने अभियान चलाएको
थियो । नगरभरि जताततै मनपरितन्त्र लागू भइरहेको छ ।’ उनले अहिलेसम्म नगरपालिकाले एक पटक पनि अनुगमन नगर्दा व्यापरीलाई लुट्न छुट भएको
बताए । सामाजिक अभियन्ता पदम माझी नगरपालिकाले स्थानीय प्रशासनसँग सहकार्य गरेर बजारको नियमित अनुगमन गर्नुपर्ने बताउँछन् । ‘जनतालाई लुटने त्यस्ता व्यापारीलाई नगरले कारवाही गर्न जरुरी छ,’ उनले भने, ‘त्यसका लागि हामीले कहाँ के सहयोग गर्नुपर्छ तयार छौं ।’
उता नगरपालिकाका नगर उपप्रमुख दीपा बोहोरा भने अहिलेसम्म बजार अनुगमन गर्न नगएको स्वीकार्छिन् । ‘अर्को हप्ता अर्को हप्ता अनुगमन गर्ने भनेर भन्छौं तर अहिलेसम्म हामीले गर्न सकेका छैनौं,’ उनले भनिन, ‘अहिले म सदरमुकाममा एक कार्यक्रममा आएकी छु, आठबीस नगरपालिकामा गएपछि यसबारेमा सल्लाह गर्नेछौं ।’ उनले गाउँ बस्तीमा महंगी बढेको भएपनि नगरले सोचेजस्तो भूमिका निर्वाह गर्न नसकेको स्वीकारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *