रेडपाण्डाको छाला सहित दैलेखका चार जना पक्राउ

मातृभूमी संवाददाता । ०५ कार्तिक दैलेख
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुर्खतेको वीरेन्द्रनगर नगरपालिका ६ गोदाम लाइनमा रहेको होटल पञ्चकोशीमा रेडपाण्डाको छालाको कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका २ का २६ वर्षीय मनोज विक, सोही गाउँपालिका ३ का ४१ वर्षीय मनबहादुर सुनार, २९ वर्षीय पदमबहादुर सुनार र नारायण नगरपालिका ९ का ४० वर्षीय सबिता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार होटलमा कारोबार भइरहेको अवस्थामा कर्णाली प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले विहिवार विहान पक्राउ गरेको हो । ‘नेपालगञ्जबाट छाला खरिद गर्न आउन लागेका व्यक्तिहरूसँगको सम्पर्क गराउने भूमिका महिलाको रहेको देखियो,’ एसपी भट्टले भने, ‘दैलेखबाट छाला तीन जनाले ल्याएपनि रेडपाण्डा मार्ने व्यक्तिहरु भने अरु नै रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।’
सुर्खेत प्रहरी प्रमुख एसपी भट्टका अनुसार ८ लाख रूपैयाँ मुल्यमा कुरा भइरहेको सूचना आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले उनीहरुको साथबाट चार फिट र तीन फिट ६ इन्च लम्बाइ भएको दुइ थान रेडपाण्डाको छाला बरामद गरेको छ । थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुर्खेतमा बुझाईएको एसपी भट्टले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *