पेट्रोलियम अन्वेषण अन्तिम चरणमा

मातृभूमी संवाददाता । ०१ फागुन दैलेख
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका क्रममा अन्तिम चरणको अध्ययन गरिने भएको छ । यसअघि दुई चरणको अध्ययन मार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । तेस्रो चरणको अध्ययनमा पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइने जनाइएको छ ।
चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुङ्गो लाग्ने जनाईएको छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्ने छ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ । आगामी फागुनभित्रै ड्रिलिङ गर्ने गरी तयारी गरिएको छ ।
नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार चिनियाँ प्राविधिक टोलीले २०७६ मा स्थलगत अध्ययन गरेको थियो । त्यसपछि पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सिस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ । अब ड्रिलिङ मार्फत पेट्रोलियम पदार्थ अन्वेषणको थप काम अघि बढाउने तयारी भइरहेको प्रतिनिधीसभा सांसद अम्मरबहादुर थापाले जानकारी दिए ।
संघीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाउन ४५ रोपनी जग्गा अधिग्रहणका लागि स्वीकृति दिइसकेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले दैलेखको भैरवी गाउँपालिका १, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निणर्य गरेको हो ।
प्रतिनिधि सभा सदस्य थापाले चिनियाँ प्राविधिक टोलिले जमिनमा रहेको पेट्रोलका स्टोर पत्ता लगाएर जग्गा अधिग्रहण गर्ने जानकारी दिए । सांसद थापाका अनुसार लगानीभन्दा उत्पादन बढ्ने देखिएमा अन्वेषणका थप काम अघि बढाइनेछ । ड्रिलिङ गर्न साढे चार किलोमिटर जमिनभित्र ड्रिलिङ गर्नुपर्छ । यसबाट सतह थाहा पाउने, भण्डारण पत्ता लगाउने काम गरिनेछ ।
दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा क्याम्प स्थापना गरेर अन्वेषणको काम थालनी गरिने जनाइएको छ । संघीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढाउन लागेको छ । आउँदो महिनामै पेट्रोलियम पदार्थको अन्वेषणको कार्य प्रारम्भ हुने कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताए । उनले भने, ‘इक्विपमेन्ट ल्याउँदा सडकका मोडहरू साँघुरा भएकाले सडक विभागलाई छिटो काम गर्न भनिएको छ ।’
अब चिनियाँ प्राविधिक टोलीले थप ड्रिलिङ गरेर सतहमा पेट्रोलको मात्रा पत्ता लगाउने काम गर्ने खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले बताए । यसअघि पहिलो र दोस्रो चरणमा गरी दुईवटा अध्ययन गरिएको छ । पेट्रोलियम पदार्थ सम्बन्धी दैलेखको अध्ययन यो नै अन्तिम हुने भूगर्भविद् डा. त्रिपाठीले बताए । अन्तिम अध्ययन भएकाले कति क्षमताको पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउने र गहिराई मापन हुने उनले वताए ।
चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाभीस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको अन्वेषणकै क्रममा पत्ता लगाएको थियो । उक्त टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिन मार्फत अन्वेषण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *