राष्ट्रिय सभा सदस्यका लागि दैलेखका मल्ल र वि.क.को उम्मेदवारी दर्ता

मातृभूमी संवाददाता । २३ पुस दैलेख
आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दैलेखका २ जनाले उम्मदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठवन्धनवाट दैलेखकी सावित्री मल्लले र नेकपा एमालेवाट दैलेखका हिक्मत वि.क.ले उम्मेदवारी दर्ता गराएका हुन् । सत्ता गठवन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबिच राष्ट्रिय सभाका ३ सिटमा १/१ सिट लिने गरी भागवण्डा भएको थियो । तीन दलिय गठवन्धनबाट उम्मेदवार बनेका समाजवादीबाट दैलेखकी मल्ल, कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया र माओवादीबाट कालीकोटका बिष्णु बिकले मनोनयन दर्ता गराएका हुन् । महिलाततर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकायाले उम्मेदवारी दर्ता गराएको जनाईएको छ । यस्तै नेकपा एमालेले पनि उम्मेदवारको मनोनयन दर्ता गराई सकेको छ । एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि दैलेखका वि.क., हुम्लाकी विमला कुमारी शाही र मुगुका डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराएका हुन् । दैलेखका वि.क. दलित क्लस्टर, हुम्लाकी शाही महिला क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बनेका हुन् ।
यसैवीच सत्ता गठबन्धन मिलेर चुनावमा जान लागेकाले कर्णालिमा यस पटक एमाले शून्य हुने पक्कापक्की भएको छ । कांग्रेससँग प्रदेश र स्थानीय तहको कुल मतभार १ हजार ९ सय ७६ छ । यस्तै, माओवादी केन्द्रसँग प्रदेश र स्थानीय तहको कुल १ हजार ६ सय १ मतभार छ । एमालेसँग प्रदेश र स्थानीय तहको कुल १ हजार १ सय ९५ मतभार छ । यस्तै, एकीकृत समाजवादीसँग प्रदेश र स्थानीय तहको कुल २ सय ४३ मतभार छ । सत्ता गठवन्धनमा ३ हजार ८ सय २० र एमालेसँग १ हजार १ सय ९५ मतभार रहेको छ । एमाले सत्ता गठवन्धनभन्दा २ हजार ६ सय २५ मतले पछि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *