दैलेखको राकम कर्णालीमा ‘स्याटेलाइट’ अस्पताल संचालन गरिने

मातृभूमी संवाददाता । ०४ फागुन दैलेख
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले दैलेखको राकम कर्णालीमा ५० शैयाको स्याटेलाइट अस्पताल संचालन गर्ने भएको छ । राकममा यसअघि नै प्रतष्ठिान मातहत अस्पताल संचालनको पहल भइरहेको थियो । राकम कर्णालीमा रहेको आधारभूत अस्पताललाई प्रतिष्ठान मातहत सञ्चालन गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसँगै राकममा ५० शैयाको अस्पताल बन्ने भएको हो ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका झण्डै ९ लाख जनसंख्याले सेवा लिन सक्ने सम्भावना बोकेको राकम कर्णालीमा प्रतिष्ठान माताहत अस्पताल सुरु हुने निर्णयले राकम कर्णालीका स्थानीय खुसी भएका छन् । कर्णाली प्रदेशका कालीकोट, दैलेख, हुम्ला र मुगु तथा सुदुरपश्चिम प्रदेशका अछाम, बाजुरा र बझाङका बिरामीलाई राकम अस्पतालवाट सेवा लिन सहज हुनेछ ।
अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गरेर गुणस्तरीय सेवा उपलब्ध गराउन सके सुर्खेतबाट समेत उपचारका लागि राकम पुग्ने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ । आठबिस नगरपालिका ४ राकम कर्णालीमा आधारभूत अस्पतालको सम्पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएको हो । आधारभूत अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ । जति सक्दो चाँडो ५० शैयाको अस्पतालबाट सेवा संचालन गर्ने प्रतिष्ठानले जनाएको छ ।

