सबै घरधुरीको बीमा गर्ने निर्णय
मातृभूमी संवाददाता । १२ जेठ दैलेख
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले सबै घरधुरीको बीमा गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकार अर्न्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको घर बीमा कार्यक्रम अर्न्तगत युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड मार्फत बीमा प्रक्रिया सुरु गरेको हो ।
प्राकृतिक विपत्तिबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न सञ्चालन गरिएको कार्यक्रमले आगलागी, बाढी पहिरो, भूकम्प जस्ता जोखिमबाट सुरक्षा दिने युनाइटेड अजोड इन्स्योरेन्सका प्रदेश प्रमुख धिरेन्द्र कुमार शाहीले बताए ।
प्रदेश सरकारले ७९ वटै स्थानीय तहलाई कार्यविधि पठाएकोमा हालसम्म २३ वटाले कार्यक्रम लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा आयोजित छलफल कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगेलिले बीमा कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा बीमाको प्रक्रिया र दाबी पद्धतिबारे युनाइटेड अजोड इन्स्योरेन्सका प्रदेश प्रमुख शाहीले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी र बीमा कम्पनीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

