‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘कल्ली’ नेपालसहित दुई सार्क मुलुक भारत र पाकिस्तानमा समेत एकसाथ रिलिज हुने भएको छ । निर्माताद्वारा प्रेषित विवरणमा जनाइएअनुसार १ फागुनमा यो फिल्म तीन छिमेकी मुलुकका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो । यसअघि २०७९ सालमा प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’ भारत र पाकिस्तानमा रिलिज भएको थियो ।

यो फिल्म तीनै मुलुकमा नेपाली र हिन्दी भाषामा प्रदर्शनमा आउने निर्माता किरण नेपालीले जनाए । भारत र पाकिस्तानमा भने हिन्दी भाषामा आउनेछ । भारतमा एमके फिल्म डिस्ट्रिब्यूटर र पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्ने जनाइएको छ । नेपालमा भने काफिया र कुबेर फिल्मस्ले वितरण गर्नेछन् ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको हाल धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा महेश दवाडीको लेखन छ ।

फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, बेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारतीको अभिनय छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *