ट्राफिक कारबाहीबाट ३० लाख भन्दा बढी राजस्व संकलन
जित बहादुर थापा (रोशन) । ३२ असार दैलेख
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले एक वर्षको अवधिमा ३० लाख १८ हजार ५ सय रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकलाई कारबाही गरि राजस्व संकलन गरेको हो । एक वर्षको अवधिमा ३ हजार ३ सय ४३ सवारी चालकलाई कारबाही गरेको छ ।
३० लाख १८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरिक्षक दिलिप कुमार बुढाले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा सवारी चेकजाँचमा कडाई गरिएका कारण राजस्व संकलनमा वृद्धि भएको हो ।

मध्य पहाडी राजमार्ग र दैलेख–चुप्रा सडक खण्डमा प्रायः सवारी चेकजाँच गर्ने गरेको उनले बताए । सवारी जाँचका क्रममा चालकले मदिरा सेवन (मा.प.से) गरी गाडी चलाएको, ओभर लोड गरेको, सिट बेल्ट वा हेल्मेट नलगाएको, सवारीका कागजपत्र साथमा नबोकेको , सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको, बत्ति बिग्रिएको जस्ता सवारीलाइ कारवाही गरिएको उनको भनाइ छ ।
यस्तै बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको सहायक निरिक्षक दिलिप बुढाले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक अभियान पनि सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ९३ वटा सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाए छ भने १ सय ४१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको तथ्याङमा उल्लेख छ ।
ट्राफिक प्रहरीले जिल्लाका विभिन्न पालिका अर्न्तगतका विद्यालयमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ ।


