दैलेखले सुन्दर संभाबना बोकेको छ : प्रचण्ड
मातृभूमी संवाददाता । १० श्रावण दैलेख
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उर्जाशिल नेतृत्वको क्षमताका कारण दैलेखले सुन्दर संभावना बोकेको आफुलाई महसुस भएको बताएका छन् । शहीद स्मृति प्रतिष्ठान भबनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो वताएका हुन् ।
मध्यपहाडी लोकमार्ग अभियानको क्रममा आफु र सिङगो केन्द्रीय पदादीकारी टिमले भवनको अबलोकन गरेको र भवन बहुयामिक भएको बताए । नेकपा माओवादी केन्द्रले नारायण नगरपालिका ६ रामपुर दैलेखमा एउटा हल सहित १६ कोठे भवन निर्माण गरेको छ ।
भर्चुअल कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीको संगठन विस्तार र स्थानीय जनताको सेवामा भवन निर्माणले प्रभावकारी योगदान पुर्याउने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले शहीद स्मृति प्रतिष्ठान भबन निर्माणले जनयुद्धका शहीद लगाएत सम्पुर्ण पिडितहरुलाई सम्मान गर्नुका साथै पार्टी संगठन बलियो हुने र यसले दैलेखको समग्र विकासको अभियानमा समेत सघाउ पुर्याउने वताए ।
अध्यक्ष प्रचण्डले पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन समेत दिए । उनले जनताको अपेक्षा अनुसार परिणाममुखी कार्य आवश्यक रहेको उल्लेख गरे ।
शहीद स्मृति प्रतिस्ठानका अध्यक्ष तथा नेकपा माओवादी केन्द्र दैलेखका ईन्चार्ज प्रेम कटुवालले भवन बन्दा जनतासँग जोडिन सजिलो भएको बताए । भवन बनाउँदा रात दिन नभनी काम गरेको बताउँदै कमजोरी मात्रै देख्ने संस्कार बोकेकाहरुले आफ्ना बिरुद्धमा आलोचना गर्दै र चिया चौतारोमा बनावटी कमजोरी देखाउँदै कुरा काट्दै हिड्ने गरेको बताए ।
भवन निर्माणसँगै दैलेखमा माओवादी केन्द्रको सांगठनिक उपस्थिति थप सुदृढ हुने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य नविन रिजाजले जानकारी दिएका छन् ।

