दैलेख सदरमुकाममा छतवाट खस्ने पानी व्यवस्थित नहुँदा नागरिकलाई सास्ती
वितिष । २० श्रावण (नारायण) दैलेख
नारायण नगरपालिकाको वजार क्षेत्रका घरको छतबाट खसालिने आकासेपानी व्यवस्थित गर्न नसक्दा पैदल यात्रुलाई बर्षेनी सास्ती हुने गरेको छ । नारायण नगरपालिका वडा नं. १, ६ र ७ मा रहेको वजार क्षेत्रका अधिकांस घरको छतवाट खासालिने आकासेपानी व्यवस्थित गर्न नसक्दा बर्षेनी नागरिकले सास्ती पाउने गरेका हुन् । दैलेख जिल्लाको सदरमुकाम समेत रहेको नगरपालिकाको वजार क्षेत्रका घरधनीले आफ्नो घरको छतवाट खसालिने आकासेपानी सिधै वजार क्षेत्रको सडकमा खसाल्दा सर्वसाधारण नागरिकले सास्ती पाउनु परेको पैदल यात्रुहरुको गुनासो छ ।
नारायण नगरपालिका वडा नं. १ को पुरानो वजार, नयाँ बजार, वडा नं. ६ र ७ को गणेश चोक हुँदै टेलिकम सम्मको वजार क्षेत्रका नागरिकले छतवाट खस्ने पानीको पाईप चार, पाँच तला माथिवाट सिधै सडकमा खसाल्ने गरेका छन् । चार, पाँच तला माथिवाट छतको पानी सिधै सडकमा खसाल्दा सडक पनि विग्रिने र पैदल यात्रा गर्ने यात्रुलाई समेत समस्या हुने गरेको छ ।

निजि तथा व्यवसायीक घर मात्र नभई नयाँ वजारमा क्षेत्रमा रहेको त्रिभुवन मावि, जनता आवि लगाएतका सरकारी विद्यालयले समेत छतवाट खस्ने पानीको पाईप सिधै सडकमा खसाल्ने गरेका छन् । छतको पानी निरन्तर सिधै सडकमा खस्दा सडकमा खाल्डाखुल्डी पर्ने र पैदल यात्रुलाई हिडडुलमा समेत समस्य हुने गरेको नारायण नगरपालिका २ जाहारकोटका स्थानीय टोपेन्द्र थापाले वताए । उनले छतको पानी सिधै सडकमा खस्दा वर्षेनी पैदल यात्री र मोटरसाईकलको यात्रा गर्नेले समेत सास्ती पाउने गरेको वताए ।
छतवाट सडकमा खस्ने पानीको पाईप व्यवस्थित गर्न नारायण नगरपालिका र वडाहरुले कुनै पहल नगरेको नाम नछाप्ने शर्तमा एक स्थानीयले गुनासो गरे । दैलेख सदरमुकामका हुनेखानेहरुले नै छतको पानी सिधै सडकमा खसाल्दा स्थानीय सरकार र वडा सरकार मौन रहेको स्थानीयको आरोप छ । छतवाट खस्ने पानी व्यवस्थित गर्न स्थानीय सरकारले छिटो भन्दा छिटो ध्यान दिनु पर्ने स्थानीयको सुझाव छ ।

