दैलेखको महाबुधाम धार्मिक पर्यटनको गन्तव्य बन्दै

मातृभूमी संवाददाता । २६ श्रवाण दैलेख
महाबुधाम दैलेखको महाबु गाउँपालिका, नौमुले गाउँपालिका र कालीकोटको महाबै गाउँपालिकाको सिमानामा पर्ने प्रसिद्ध तीर्थस्थल हो । यो धाम पछिल्लो समय धार्मिक आस्था र पर्यटनको गन्तव्य बन्दै गएको छ । भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि महाबुधामप्रतिको आकर्षण बढ्दै गएको हो ।
धार्मिक मान्यता अनुसार एक हजार वर्षपहिले दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुंगामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुंगामा दिनहुँ दुध चढाउन थालेको र ढुंगा फुटेर शिवलिंग उत्पत्ति भएको किंवदन्ती छ । धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन, मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरू पनि त्यत्तिकै आकर्षित हुन थालेका छन्‌ ।
महाबुधाम आस्था र विश्वासको महत्वपूर्ण धरोहरका रूपमा रहेको र भक्तजनले मागेको वर प्राप्त हुने जनविश्वास रहेको छ । सुर्खेत, दैलेख, जाजरकोट, काठमाडौँ, कालीकोट, जुम्ला र हुम्ला लगायतका ठाउँबाट हजारौँ भक्तजन बर्सेनि पूजाका लागि महाबुधाम आउने गरेको महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए ।
उनले छिनभरमै मौसम परिवर्तन भइरहने महाबुधाममा पुग्ने जोकोहीले पनि आनन्दको अनुभूति गर्ने बताए। यसको इतिहास लामो भएकाले महाबुधाममा पुगेर शिवजीको दर्शनपछि मनोकामना पूरा हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *