दैलेखको महावु गाउँपालिकाले करारका कर्मचारी हटाउने
मातृभूमी संवाददाता । ०१ कात्तिक दैलेख
दैलेखको महावु गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यहि कात्तिक १ गतेदेखि लागु हुने गरी करारका कर्मचारीलाई काममा नलगाउने जानकारी दिएको छ ।
कर्णाली प्रदेश सरकारको स्थानीय सेवा गठन र सञ्चालन ऐन, २०८१ को दफा १४, कर्णाली प्रदेश स्थानीय सेवा गठन र सञ्चालन नियमावली, २०८१ को नियम ११ र यहि असोज ५ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम असोज मसान्तसम्म गाउँपालिकासँगको करार सम्झौता अनुसार कामकाज गर्दै आएका ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नभएको पत्रमा उल्लेख छ ।
सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश बमोजिम कामकाज गरिरहेका कर्मचारी र गाउँ शिक्षा समितिको सिफारिसमा गाउँसभाबाट दरबन्दी सिर्जना भई गाउँपालिका अनुदानमा कार्यरत शिक्षकहरु बाहेक गाउँपालिकाको कार्यालय र अर्न्तगत हालसम्म कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु तथा शिक्षकहरुको करार सेवा सम्झौताको म्याद अर्को कानुनी व्यवस्था वा निर्णय नभएसम्म यहि कात्तिक १ गतेदेखि थप नहुने प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
कात्तिक १ गतेवाट कर्मचारीले हाजिर गरे/गराएको पाईएमा गाउँपालिका जवाफदेही नहुने र तलब भत्ता लगायतका सेवा सुविधा भुक्तानी गर्न नसकिने पत्रमा उल्लेख छ । साथै आफुसँग रहेका कार्यालयका जिन्सी तथा अन्य सामाग्रीहरु वुझाउन पनि पत्र मार्फत अनुरोध गरिएको छ ।

