निजी विद्यालयमा छोराछोरी पढाउने गुराँसका तिन शिक्षकलाई कारवाही

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख
गुराँस गाउँपालिकाका ३ जना शिक्षकलाई गाउँपालिकाले कारवाही गरेको छ । सरकारी विद्यालयका शिक्षकले आफ्नो छोराछोरीलाई निजि विद्यालयमा पढाएको भन्दै सामुदायिक विद्यालयका ३ जना शिक्षकलाई कारवाही गरेको हो ।
गुराँस गाउँपालिकाको वडा नं. ५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ३ जना शिक्षकलाई कारवाही गर्दै जनही १० हजार जरिवाना गरेको छ । गाउँपालिकाको २०७५ चैत्र २५ गतेको निर्णय अनुसार उनीहरुलाई कारवाही गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
गाउँपालिकाको शिक्षा शाखाले मिती २०७७ असार ३१ गते विद्यालयलाई एक पत्र लेख्दै गाउँपालिकाको खातामा जनही १० हजारका दरले रकम दाखिला गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाले कृष्ण माध्यामिक विद्यालयलाई पठाएको पत्रको आधारमा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले भदौ ८ गते तिन जना शिक्षकहरुलाई पत्र लेख्दै गाउँपालिकाको आन्तरिक राजश्व कोषमा उक्त रकम दाखिला गर्न अनुरोध गरेका छन् ।
सो विद्यालयमा कार्यरत शिक्षकहरु पदमवहादुर नेपाली, रोशनी मल्ल र कमला कुमारी चन्दको नाम उल्लेख गरी गाउँपालिकाले पत्र पठाएपछि सोही आधारमा जरिवाना स्वरुप जनही १० हजार रकम जम्मा गर्न प्रधानाध्यापक चन्दले उनीहरुलाई पत्र लेखेका हुन् ।
गाउँपालिकाले विद्यालयमा पठाएको पत्रमा गाउँ कार्यपालिकाको मिती २०७५ चैत २५ गतेको वैठकले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्ना छोराछोरी नीजि विद्यालयमा अध्ययन गराएको भेटिएमा १० हजार रकम जरिवाना गर्ने निर्णय गरेको छ । सोहि निर्णय अनुसार गाउँपालिकाका तिन जना शिक्षकहरुलाई जरिवाना तोकिएको गुराँस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर वुढाद्धारा हस्ताक्षरीत चिठ्ठिमा उल्लेख गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वुढाले मातृभूमी अनलाईनसँग कुरा गर्दै गाउँ कार्यपालिका वैठकले निर्णय गरी प्रत्येक सामुदायिक विद्यालयलाई जानकारीका लागि पत्र पठाईएको भए पनि कृष्ण माध्यामिक विद्यालयका तिन जना शिक्षकहरुले अटेर गरेकाले जरिवाना स्वरुप उक्त रकम दाखिला गर्न पत्र पठाईएको वताएका छन् ।
छोराछोरी नीजि विधालयमा पढाएकोले जरिवाना तोकिएका शिक्षक पदम नेपालीले गाउँपालिकाको निर्णय नमान्ने वताएका छन् । शिक्षक नेपालीले आफु गाउँपालिकाको निर्णय पनि नमान्ने र जरिवाना रकम पनि दाखिला नगर्ने वताएका छन् । उनले आफु कानुनी उपचारका लागि गाउँपालिका विरुद्ध अदालत जाने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *