दैलेखका थापालाई ‘एन पिस’ अवार्ड

मातृभूमी संवादाता । २२ फागुन दैलेख
दैलेख जिल्लाका सामाजिक अभियान्ता हीरासिंह थापा ‘एन पिस’ अवार्डबाट सम्मानित भएका छन् । जिल्लामा विगत दुई दशक देखि समाज रुपान्तरण, महिला र बालबालिकाको अधिकार तथा सामाजिक कुसंस्कारको रुपमा रहेको छाउप्रथा र बालविवाह न्यूनिकरणका लागि अनवरत रुपमा काम गर्दै आएका अभियान्ता थापा ‘एन पिस’ अवार्डबाट सम्मानित भएका हुन् । विभिन्न एसियाली मुलुकमा महिला, शान्ति र सुरक्षामा काम गर्ने राष्ट्रसंघीय ‘एन पिस’ नेटवर्कको अवार्डमा उनी छानिएका थिए । उनी एनपीस अवार्डको ‘क्याम्पेनिङ फर एक्सन’ बाट सम्मानित भएका हुन् ।
समाज रुपान्तरण, महिला बालबालिकाको अधिकार तथा सामाजिक कुसंस्कारको रुपमा रहेको छाउप्रथा र बालविवाह न्यूनिकरणको क्षेत्रमा काम गर्ने थापा अवार्डका लागि चुनिएका थिए । उनलाई मंगलवार थाइल्याण्डको बैंकमा आयोजित एक समारोहमा पुरस्कार सहित अवार्ड प्रदान गरिएको हो ।
उनलाई राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक ब्युरोले अवार्डका लागि छानेको थियो । मनोनयनपछि अनलाइन भोटिङ भएको थियो । भोटिङको लागि छनौट भएका पाकिस्थान र श्रीलंकासँग प्रतिशपर्धा भएको थियो । साउथ एसिया प्यासिफिक क्षेत्रका देशहरुवाट १ जना छानिने ‘क्याम्पेनिङ फर एक्सन म्यान’ बिधामा उनलाई सम्मान गरिएको हो ।
अभियान्ता थापा नेपालको दैलेखका ग्रामिण क्षेत्रमा जन्मिएर बाल विवाह, छाउपडी प्रथा, महिला हिंसा, बाल अधिकार तथा सामाजिक कुरिति र कुसंस्कार विरुद्ध अभियान चलाउँदै विभेद रहित समाज निर्माण गर्न लागि परेका छन् । सामाजिक अभियान्ताको रुपमा सक्रिय थापा लैंगिक हिंसा, कुरीति, अन्धविश्वास विरुद्ध सशक्त आवाज उठाउदै आएका छन् ।
२०५४ सालमा स्थापित सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संस्थापक अध्यक्ष भई सामाजिक काममा सक्रिय रहनुभएका थापा दैलेखमा समाज रुपान्तरणको संवाहकको रुपमा समेत परिचित छन् । जिल्लामा महिला, दलित, जनजाति, बालबालिका र पिछडा वर्गका समस्याहरुको समाधानका लागि सहजीकरण तथा सामाजिक परिचालनको माध्यमबाट राज्यका हरेक निकायहरुमा वकालत तथा पैरवी गर्दै आएको सक्रिय संस्था सामाजिक सेवा केन्द्र (सोसेक) को अध्यक्ष समेत रहेका थापा बाल संरक्षण संजाल नेपाल, कर्णाली प्रदेशका संयोजक पनि हुन् । थापा जिल्ला समन्वय समिति दैलेखका इन्जिनियर पनि हुन् ।

दैलेख र दैलेखीकाे शिर उँचाे पार्ने थापालाइ हाम्राे पनि वधाइ तथा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *