पेट्राेलियम पदार्थ अन्वेषणको काम उत्साह जनक

मातृभूमी संवाददाता । २ पौष दैलेख
दैलेखमा सुरु भएको पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई तिव्र पारिएको छ । जिल्लाको नाभिस्थान, श्रीस्थान, पादुकालगायतका क्षेत्रमा सदिऔँदेखि निरन्तर बलिरहेको ज्वाला क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई तिव्र पारिएको हो ।
नेपाल सरकार र चिन सरकार बीच भएको सम्झौता अनुसार अन्वेषणको काम धमाधम भईरहेको छ । नेपाल सरकार खानी तथा भुर्गभ विभाग र चिनको जिओलोजिकल सर्वे कम्पनी बीच दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्का लागि सम्झौता भए अनुसार अहिले अन्वेषणको कामलाई तिव्र पारिएको भू–गर्भविद् डा.गणेशनाथ त्रिपाठीले बताए ।
चाइनाको विशेषज्ञ प्राविधिक टोलीले अहिलेसम्म संकलन गरेका चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा आएको भू–गर्भविद् डा. त्रिपाठीले बताए । उनले टोलीले अहिलेसम्म गरेको सतही अध्ययनले जमिनमुनि रहेको पेट्रोलियम पदार्थलाई थुनेर राख्न नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण देखिएको बताए ।
पेट्रोलियम अन्वेषण टोलीले बिभिन्न चार वटा सर्भे एकै पटक सञ्चालन गरिरहेको छ । पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जियोकेमिकल स्याम्पलिङ कार्य र अन्वेषण अन्र्तगतको महत्वपूर्ण सिईस्मिक सर्भे गरिरहेको भू–गर्भविद् डा. त्रिपाठीले जानकारी दिए ।
उत्खनन् कार्य आफैमा अनिश्चित चुनौतीपूर्ण आर्थिक जोखिमको कार्य भएको भू–गर्भविद् डा. त्रिपाठीको भनाई छ । अध्ययन अनुसन्धानबाट सम्भावना देखिएका धेरै स्थानमा खोजी कार्य सफल नभएको बताउँदै त्रिपाठीले दैलेखमा पेट्रोलियम पदार्थ भेटिन्छ नै भन्न नसकिने बताए । निराश हुनु पर्ने अवस्था पनि नरहेको भन्दै त्रिपाठीले सम्भावना र आशावादी हुने धेरै ठाउँ रहेकाले दैलेखमा सञ्चालन भइरहेको अन्वेषण कार्य महत्वपूर्ण भएको बताए ।
चिनीयाँ प्राविधिक टोलीले दुल्लु नगरपालिका, भैरवी गाउँपालिका महाबु गाउँपालिका र नारायण नगरपालिका विभिन्न क्षेत्रलाई आधार मानी अन्वेषण गरिरहेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर, नौमूले र भगवतीमाई गाउँपालिकाका केही भू–भाग पनि अन्वेषण गरिएको भू–गर्भविद् डा. त्रिपाठीले बताए ।
दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम अन्वेषणको कामले सकारात्मक उपलब्धि हासिल भए देश नयाँ युगमा प्रवेश गर्ने नागरिक समाज दैलेखका अगुवा अधिवक्ता खड्कवहादुर सिजापतिले वताए । उनले यतिमात्र नभई तामा खानी, फलाम खानी, सिलेट खानी समेत रहेकाले सरकारले यी खानीहरूलाई पनि उत्खनन् गर्न तर्फ ध्यान दिनु पर्ने बताए ।
यस्तै अन्वेषण गर्ने टोलीका लागि आवश्यक पर्ने जिल्लामा सबै सुरक्षा व्यवस्था मजबुत पारिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *