यसपाली घुमौं दैलेख… (फोटो फिचर)

महेन्द्र सापकोटा
दैलेख धार्मिक, ऐतिहासिक, पुरातात्कि र प्राकृतिक सुन्दरताले भरिपुर्ण जिल्ला मानिन्छ । यहाँ आउने आन्तिरक एवं बाह्य पर्यटकलाई मठ मन्दिर, पुरातात्विक सम्पदा र प्राकृतिक सुन्दरताले सवैको मन लोभ्याउने गरेको छ । काठमाण्डौ र लुम्विुनी पछिको तेस्रो धामकोरुपमा परिचित दैलेख यहाँको पर्यटकीय क्षेत्रले पर्यटकको मनै लोभ्याउने गरेको पाइन्छ । नेपाल भ्रमण वर्ष सफल पार्नका लागी यहाँका स्थानीय तह र सम्वन्धीत निकायले धार्मिक, ऐतिहासिक, पुरातात्वीक र प्राकृतिक सुन्दरताको प्रचार–प्रसार गर्न लागि परेका छन् । मुगुको राराताल पुग्नलाई दैलेखको वाटो भएर जानु पर्ने भएकाले दैलेखका विभिन्न क्षेत्र घुम्ने वातावरण श्रृजना गर्न स्थानीय तहले ध्यान दिनु पर्ने बुद्धिजिवीको भनाई छ । ‘स्वर्गकी अप्सराको उपमा पाएको मुगुको राराताल दैलेख जिल्लाको वाटो मुलढोका मानिन्छ ।
दैलख जिल्लाको कुल क्षेत्रफल १५०२ वर्ग किलोमिटर रहेको छ भने कुल क्षेत्रफल मध्ये १६ प्रतिशत भू–भाग हिमाली र वाँकी ८४ प्रतिशत भू–भाग मध्ये पहाडी भूगोलले ओगेटेको पाइन्छ । सुर्खेतदेखि करिव ६५ किलोमिटर दुरीमा रहेको दैलेख बजार नेपालगञ्ज देखि करिव १ सय ७४ किलोमिटरको दुरीमा रहेको छ भने काठमाण्डौं देखी ६२५ किलोमिटरको दुरीमा छ । देवलोक मानिने यस जिल्लामा विभिन्न धार्मिक, साँस्कृतिक, भौगोलिक तथा पर्यटकीय स्थलहरु धेरै मात्रामा रहेका छन् ।
प्राचिन कालमा देवताहरुको लोक वा निवास स्थान रहेकोले देवलोक वा देवलेक नामाकरण हुन गएको र पछि अपभं्रस भई दैलेख हुन गएको भन्ने भनाई रहेको पाइन्छ । अर्को मतअनुसार यो भूमिमा दधिचि नामक ऋषिको नेतृत्वमा अन्य ऋषिमुनिहरुले आदिकालमा तपस्या गरेको भूमि भएकाले यस भूमिको नामाकरण प्रमुख ऋषिकै नामबाट दधिलेख भएको र पछि दैलेख हुन गएको हो भन्ने भनाई पनि रहेको पाइन्छ । दैलेखमा पर्यटकीय क्षेत्र तथा धार्मिक, ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक तिर्थस्थल रहेका छन् ।
कर्णाली पुग्ने पर्यटकलाई दैलखमा स्थानीय सरकारले रोक्ने वातावरणको सिर्जना गर्नुपर्ने अधिकाँश स्थानीयबासीको भनाई छ । तव मात्र दैलेखमा आन्तरिक तथा वाह्य पर्यटकका कारण प्रचार–प्रसार हुन्छ । पर्यटकले धार्मिक एतिहास, पुरातात्विक सम्पदा बुझ्छन् । जिल्लामा ११ वटा स्थानीय तह छन् । धार्मिक, ऐतिहासिक, पुरातात्विक र प्राकृतिक सुन्दरता अवलोकन तथा अध्ययनका लागी दैलेख सदरमुकाम केन्द्र विन्दु मानिन्छ । पर्यटकलाई अवलोकन र सम्पदाको महत्व बुझ्न यहाँको एतिहासिक, पुरात्विक सम्पदाले बाध्यता नै बनाउँछ ।
कोतगढी

दैलेख नारायण नगरपालिका एक मा रहेको तत्कालिन बाईसे चौविसे राज्यकालमा युद्धकालमा निर्माण गरिएको कोतगढी जिल्ला सदरमुकाममको मुटुमा रहेको छ । नारायण नगरपालिकाको वडा नं. १ मा रहेको कोत गढि दैलेख सदरमुकाममै पर्दछ । वाईसे चौविसे राज्य कालमा युद्ध गर्नका लागी निर्माण गरिएको हो भन्ने किंवदन्ति रहेको छ । कतै कतै वुढापाकाहरुले यो पाँच भाई पाण्डपले एकै रातमा निर्माण गरेका हुन् भन्ने किंवदन्ति पनि पाईन्छ । यहाँ झण्डै ३ मिटर लम्वाई र २ फिट चौडाईका ढुङ्गा प्रयोग गरिएको छ ।
वेलासपुर
नारायण नगरपालिका वडा नं. ६ स्थित वेलासपुर मन्दिर वाईसे चौविसे राज्यकालमा वेलापुर राज्यका राजाको कुल देवता रहेको किंवदन्ति पाईन्छ । यहाँ मानिस स्वच्छ मनले माग्दा चिताएको पाईन्छ भन्ने जनविश्वास छ । वेलासपुर पुग्न दैलेखको देवकोटा चोक वाट करिव १ किलोमिटर पक्कि सडक हुँदै पुगिन्छ । वेलासपुर मन्दिरमा जानका लागी २२६ वटा सिंढि निर्माण गरिएको छ ।
२२ देवलहरु
नारायण नगरपालिका वडा नं. ६ स्थित भूर्ति गाउँमा ६ फिट देखि १५ फिट सम्मका शिखरशैलीमा अवस्थित २२ वटा देवलहरु रहेका छन् । निर्माणकालमा २५ वटा देवलहरु रहेतापनि हाल ३ वटा देवलहरुको अस्तित्व समाप्त भएतापनि २२ वटा देवलहरु मात्र रहेका छन् । दैलख बजारबाट यस स्थानमा पुग्न सवारीसाधनमा १५ मिनेट र हिडेर ३० मिनेटमा पुग्न सकिन्छ । जुम्लाका मल्ल साम्राज्यकाल अर्थात पन्धौ सताब्दीतिर खस राजाहरुबााट यस प्रकारका देवहरु निर्माण भएको पाईन्छ । स्थानियका अनुसार द्वापरकालमा पंञ्चपाण्डपहरुद्वारा देवलहरुको निर्माण भएको हो भन्ने गरिन्छ । देवलहरुमा रहेका ढुङ्गाहरुमा कलात्मक आकृति कुदिएका छन् । यी देवलहरुलाई पूरातत्व विभागले क वर्गमा वर्गीकरण गरेको छ । भने सन् २००८ मा विश्व सम्पदा सूचीको प्रस्तावित सूचिमा समावेश गरिएको छ ।
कोटिला मन्दिर
नारायण नगरपालिका वडा नं. ९ स्थीत कोटिला मन्दिर शतिदेवीको अंग कोटि पतन भएको किंमदन्तिमा उल्लेख छ । दैलेखका पाँच धार्मिक स्थल मध्येको कोटिला पनि महत्वपुर्ण मानिन्छ । महादेवले शतिदेवीको मृत्यु पश्चात उनको मृत शरिरलाई वोकि हिड्दा यहाँ शतिदेवीको कोटि पतन भएकाले यसको नाम कोटिला रहन गएको वताईन्छ । यहाँ पुग्न दैलेख सदरमुकामवाट ५ किलोमिटरको मोटर यात्रामा पुगिन्छ । यहाँ अहिले मानवनिर्मित ताल निर्माणका लागी डिपिआरको काम भैरहेको छ ।
दुल्लु नगरपालिका
दुल्लु नगरपालिका अन्तरगत पंञ्चकोशी तिर्थस्थल शिरस्थान, नाभिस्थान, कोटीला, धुलेश्वर र पादुका गरी जम्मा पाँच तिर्थ स्थलहरुको दर्शनलाई उच्च महत्वको रुपमा हेर्ने गरिन्छ । पंञ्चकोशी तिर्थ गर्नका लागि पहिलो दिन कोटेश्वर महादेवको दर्शन कार्यबाट यात्रा प्रारम्भ गरी विनायक गाउँस्थित मुग्राको पुरानो धाराको स्नान गरी सोही दिन सोही ठाउँमा बास बस्नुपर्दछ । दोस्रो दिन मालिका देवीको दर्शन गरी डुङ्गेश्वर पुगेर डुङ्गेश्वर महादेवको दर्शन गरिन्छ । तेसो्र दिन पादुका स्थान पुगी स्वामी कार्तिकेय ज्वालादेवी भैरव र शिवजीको दर्शन गरिन्छ । चौथो दिन भैरवीकुण्डमा स्नान गरी भैरीकालिकाथुम पुगी कालिका देवी र धुलेश्वर महादेवको दर्शन गरिन्छ । पाँचौ दिन ब्रह्मकुण्डमा स्नान गरी हाडेचौरस्थित ब्रह्मकपाली, नाभिस्थान, शिरस्थानको दर्शन गरी पंञ्चकोशी क्षेत्रको परिक्रमा गरेर तिर्थ पूरा गरिन्छ ।
श्रीरस्थान नाभिस्थान
दुल्लु नगरपालिका अन्र्तगत छामघाट खोला र नाभिस्थान खोलाको किनारमा अवस्थित पंञ्चकोशी तिर्थस्थल मध्ये महत्वपूर्ण पिठ हो । यो ठाउँमा पुग्न दैलेख बजारबाट करिब एक घण्टा लाग्दछ । सत्य युुगमा दक्षप्रजापतिको यज्ञकुण्डमा आत्मदाह गरेकी सत्यदेवीलाई पति महादेवले पिठ्युमा बोकी हिड्दा त्यस ठाउँमा शिरपतन भएकाले शिरस्थान भन्ने गरिएको किम्वदन्ती भनाई छ । यो ठाउँमा परापूर्वकालदेखि अनवरतरुपमा ज्वाला प्रकट भएको र सोही ज्वालालाई देवीको रुपमा पुजा अर्चना गरिने भएकाले यस पिठलाई ज्वालादेवी पनि भन्ने गरिन्छ । शिवरात्रीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । शिरस्थान मन्दिर नजिक रहेको खोलाको किनारमा मृत व्यक्तिको दाहसंस्कार गर्ने गरिन्छ ।
धुलेश्वर
दुल्लु नगरपालिका स्थित वडलम्जीको धुलेश्वर डाडाँमा अवस्थित मन्दिर पंञ्चकोशी तिर्थस्थल मध्येको एक महत्वपूर्ण शक्ति पिठ हो । पौराणिक कथन अनुसार सत्यदेवीको मृत शरीरलाई महादेवले डुलाउदै लैजादा यस स्थानमा पुग्दा सत्यदेवीको अंगको धुलो पतन भएकाले धुलेश्वर रहन गएको भन्ने भनाई रहेको छ । यहाँ शिखरशैलीका देवहरु रहेका छन् । केही वर्षअघि सम्म भूर्गवबाट खरानी वालुवा निस्कने भएतापनि अहिले यो मृतज्वालामूखीको रुपमा रहेको छ ।
पादुकास्थान
दुल्लु नगरपालिका पादुका खोलाको किनारमा अवस्थित पादुकास्थान दैलेखको पंञ्चकोशी तिर्थस्थलहरु मध्येको महत्वपूर्ण पीठ हो । सदरमुकामदेखी २३ किलोमिटरको दुरीमा पश्चिममा पर्दछ । महादेवले मृत सतिदेवीको शरीरलाई बोकेर घुम्दै जाँदा यो ठाउँमा पुगेपछि पाउ पतन भई शिवशक्ति स्वरुपका रुपमा रहन गएकोले यो पिठको नाम पादुकास्थान रहेकोे किबमदंन्ती रहेको पाईन्छ ।
महावु (शिवजी)
दैलेखको महत्वपूर्ण पर्यटकीय क्षेत्र अन्तरगत पर्ने कालिकोट र दैलेखको सिमानामा रहेको महावु आफैमा एक चर्चित ठाउँ हो । समुन्द्री सतहदेखि करिव ४१६८ मिटरको उचाईमा अवस्थित यस ठाउँमा ढुङ्गाबाट उत्पति भएको शिवलिङ्ग रहेको छ । जसको दर्शनको लागि प्रत्येक वर्षको साउनको महिनामा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । किम्वदन्ती अनुसार शिव र पार्वतीको उत्पति भएको कैलाशको रुपमा प्रसिद्व यस ठाउँमा तिर्थयात्रीहरुले दर्शन गरेपछि मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पूर्खाहरुका अनुसार दैलेख जिल्लाको भूर्तिका एक व्राह्मणका लाटा छोरा पाटनमा गई गाई भैँसी चराउन गएको समयमा निन्द्रा लागेपछि ढुङ्गामा गएर सुते त्यस समयमा शिवको दर्शन पाएपछि त्यस ढुङ्गामा दिनहुँ दुध चढाउनुपर्ने र उक्त कुरा कसैलाई नभन्नु भन्ने आज्ञापाएपछि त्यसै अनुसार गरेकोले उनी बोल्न र वेद पढ्न सक्ने भएको भनाई छ । त्यही ढुङ्गाबाट शिवको लिङ्ग जस्तो आकृति भएको ढुङ्गा अहिले पनि जस्ताको तस्तै रहेको छ । हिउँदको महिनामा यहाँ हिउँ पर्ने भएकाले सो क्षेत्र साहै रमणीय हुने गर्दछ । यहाँबाट जिल्लाका विभिन्न भागहरु तथा कालिकोटका केही भागहरुको अवलोकन पनि गर्न सकिन्छ ।
नौमूले
शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, तल्लो डुगेश्वर आदि पछिको छुट्टै पर्यटकीय बोके ठाउँ हो नौमूले । दैलेख बजारबाट १८ किलोमिटरको दुरीमा रहेको नौमूले ऐतिहासिक पृष्ठमूमि बोकेको ठाउँ हो । यस ठाउँमा पानीका नौमूल एकै ठाउँमा रहेकाले यसको महत्व निकै रहेको छ । वरिपरि अग्ला डाडाँहरु तथा विचको समथर भू–भागमा लोहोरे खोलाको किनारमा नौमूले बजार रहेको छ । द्धन्द्धका समयमा माओवादीको उद्गम स्थलको रुपमा चिनिएको यो क्षेत्रलाई युद्ध पर्यटकीय क्षेत्र बनाउनुपर्ने नौमुले बासीको माग रहेको छ । यसै गाउँपालिकामा द्धारी झरना रहेको छ ।
मदानताल
मदानताल दैलेख जिल्लाको सवै भन्दा ठुलो ताल हो । वरिपरी हरियाली डाँडाकाँडा जंगलको विच भागमा अवस्थीत यो ताल समुन्द्रि सतह देखी २९०० फिटको उचाईमा छ । यस क्षेत्रमा हिउँदको समयमा हिउँ पर्ने गर्दछ । झण्डै २०० मिटर लम्वाई र १५० मिटर चौडाईमा फैलिएको छ । हिउँदको समयमा यस तालमा मुगुको रारातालवाट चराचुरुङ्गिहरु वसाई सराई गरी आउने गर्दछन् । कुनै वेला यो ताल निकै ठुलो रहेको र ताल फुटेर ईल्चि भन्ने गाउँ नै वगाएको वुढापाकाहरु वताउँछन् । यो ताल सम्म पुग्नका लागी दैलेख सदरमुकामवाट ७० किलोमिटरको मोटर यात्रा पछि आधाघण्टाको पैदल दुरीमा पुगिन्छ । यो ताल नजिकै दैलेखकै सवै भन्दा ठुलो नाके गुफा पनि पर्दछ ।
प्राकृतिक सम्पदाहरूमा दैलेखका विभिन्न स्थानीय तहमा रामगाड, भुतगाड, कर्णाली नदी, लोहोरे खोला, छामगाड खोला, पादुका खोला, द्वारी झरना, खरिगैरा झरना, लाँकुरी झरना, कुशापानी झरना, खुनगाड खोला, कानेगाड खोला, शिखरद्वारी (घोडादाउनी) लगाएतका थुप्रै पर्यटकीय क्षेत्रहरु रहेका छन् । यदि यी प्राकृतिक सम्पदाहरूको बारेमा सर्वत्र जानकारी गराएमा यस जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने सम्भावना देखिन्छ ।
यसका साथै छालाको लागि प्रख्यात भनेर चिनिने दैलेख जिल्लाको अधिकांश भूभाग जंगल क्षेत्रमा पर्दछ यहाँका जंगलमा बाघ, भालु, स्याल, चितुवा, दुम्सी, लोखर्के, खरायो, मलसाँप्रो, फ्याउरो, रतुवा, बँदेल, बाँदर, घोरल, कस्तूरी मृग, थारल, सर्प आदि जंगली जनावरका साथै कालिज, लोइचे, परेवा, ढुकुर, भँगेरा, काग, कोइली, चिल, गौँथली जस्ता हजारौं जंगली चराहरूले यहाँको पर्यटन क्षेत्रमा निकै लाभदाय मानिन्छन् । साथै सम्बन्धित निकायले यि जनावरहरूको संरक्षरमा जोड दिएमा दैलेख जिल्लामा पर्यटन विकासको सम्भावना प्रवल रहेको छ जानकारहरु वताउँछन् ।