दैलेखकी कोरोना संक्रमित महिलाको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु

मातृभूमी संवाददाता । २७ मंसिर दैलेख
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दैलेख घर भएकी कोरोना संक्रमित ३८ वर्षिया महिलाको शनिबार मृत्यु भएको छ । दैलेख नारायण नगरपालिका १ निवासी ती महिला गत कात्तिक पहिलो साता भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् ।
उनलाई कात्तिक ३ गते दैलेखमा कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । उनलाई जिल्ला अस्पताल दैलेखमा दुई दिन भर्ना गरि उपचार गरिएको थियो । उपचारकै क्रममा स्वास्थ्यमा झन् समस्या देखिएपछि पोजेटिभ देखिएको दुई दिन पछि भेरी अस्पताल नेपालगञ्जमा थप उपचारका लागी लगिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएको ५५ दिनपछि शनिबार दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ । लामो समयसम्म उपचार गर्दा केही ठिक भएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका सुपरिटेण्डेण्ट डा. प्रकाशबहादुर थापाले बताए । योसँगै दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

८ सय ९९ जनामा संक्रमण पुष्टि, १५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार २ सय ४२ जनाको नमुना स्वाब संकलन गरी ‘पीसीआर’ परीक्षण गर्दा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाईएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ४७ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

१५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

१ हजार ३ सय ५९ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ३ सय ५९ जनाले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या दुई लाख ३४ हजार २ सय ३१ पुगेको छ ।
हाल देशभर ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *