थोरै पढौं, तर बुझेर पढाैं

आशिक झा

परीक्षामा सर्वोत्कृष्ट हुँदा खुशी लाग्नु स्वभाविकै हो । त्यसभन्दा पनि आफ्नो समुदायको र ठाउँको नाम राख्न पाएँ, त्यसले अझ खुशी बनाएको छ । एउटा त राष्ट्रिय स्तरमा म कुन समुदायबाट र संस्थाबाट हो भन्ने कुरा चिनाउन पाएको छु । यसलाई मैले आफू मात्र नभएर यसमा योगदान दिने मेरा सम्पूर्ण गुरुहरु तथा समुदाय सबैको प्रतिनिधित्वका रुपमा लिएको छु । जसले म धेरै खुशी पनि छु ।

दुई सय अंकको परीक्षामा लक्ष्य त मेरो दुई सय नै थियो । प्रश्न पत्र हेर्दा पनि नआउने तथा गार्हो खालको थिएन । तर, केही गडबड भयो जसका कारण केही कम नम्बर आयो । यसपटक नै नाम निस्कने अनि एमबीबीएस पढ्ने कुरामा भने म विश्वस्त थिएँ ।

अनि घर आएर आफूले लेखेका उत्तरहरु ‘ट्याली’गर्दा पनि झनै विश्वस्त भइयो । तर रिजल्ट आउन केही दिन लाग्यो । बिहीबार राति ८ः४५ तिर रिजल्ट आएको थियो । मैले चाहिँ १० बजे रिजल्ट हेरेँ । सर्वोत्कृष्ट भएको थाहा पाएँ । त्यसपछि राति २ बजे सम्म निद्रै लागेन ।

धेरैको दिमागमा सर्वोत्कृष्ट भनेको निजी विद्यालय नै हो भने जस्तो मेरो दिमागमा पनि थियो । अनि मैले पनि त्यस्ता कलेजमा इन्ट्रान्स दिएको थिएँ, नाम पनि निस्केको थियो ‘एडमिसन’को लागि । तर, खर्च भने मैले बेर्होन नसक्ने खालको थियो । त्यसबेला सबैभन्दा उत्कृष्ट भनिएको सेन्ट जेभियर्सले एक लाख ८० हजार रुपैयाँ भनेको  थियो प्लस टुको लागि ।

मेरो एक जना दाइको साथीले विश्व निकेतनबाटै पढ्नु भएको रहेछ । अनि उहाँले विश्व निकेतन धेरै राम्रो छ, धेरै कुरामा त्यहाँका विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गरी सकेका छन् भनेपछि मात्र सेन्ट जेभियर्सको फर्म भरिसकेपछि पनि म विश्व निकेतन  पुगेको थिएँ ।

विश्व निकेतनमा मैले के पाएँ भने सरहरुले अतिरिक्त कक्षा पनि दिनु हुँदो रहेछ त्यो पनि निःशुल्क । अनि कक्षा पनि नियमित । लगभग सात घन्टा जति । बीच बीचमा परीक्षा पनि भैरहेका हुन्छन् । अर्को भनेको विद्यार्थीको क्षमता पहिचान गरेर विभिन्न कक्षामा राख्ने गरिन्छ । जसले गर्दा सबैलाई पढाइ बोझ हुँदैन ।

खर्चका हिसाबमा पनि मैले जम्मा २५ हजारमा कक्षा ११ र १२ पढ्न पाएँ विश्व निकेतनमा । ए प्लस ल्याएकोले पनि मैले त्यति रकममा पढ्न पाएको हो । शिक्षकले पढाउनु पर्यो अनि विद्यार्थीले पनि पढ्नु पर्यो । विद्यार्थी र शिक्षकका बीच राम्रो समन्वय भयो भने आगामी दिनमा पनि यस्ता नतिजा आउने छ । यसमा श्रेय जनकपुर लगायत विश्व निकेतनमा पढाउनु भएका सर मिसहरुलाई  पनि जान्छ ।

त्यस्तै म जनकपुर श्री माविमा हुँदा पनि केही शिक्षकहरुले पनि पर्सनल गाईडेन्स पनि गर्नु भएको थियो । मैले घरनजिकैको स्कुलमा प्राइमरी, प्रि प्राइमरी लेभल पढेको थिएँ ।

अब घर नजिकको स्कुल भएकाले आफ्नै आँगन जस्तै जस्तो लाग्थ्यो । त्यति बेला त्यो स्कूल नयाँ नै थियो । त्यहाँको सरहरुले तिमी जहाँ पढेपनि यदि ‘पर्सनल गाईडेन्स’ चाहिन्छ भने सरहरुलाई सोध्न सक्छौ भन्नु भएको थियो । त्यसले पनि मलाइ निकै सहयोग पुग्यो ।

सरहरु नजिकैको हुनुहुन्थ्यो त्यसमध्ये सञ्जीव सर पनि हुनुहुन्थ्यो । उहाँको घर गएर पनि मैले कहिलेकाहीँ पढ्ने गरेको थिएँ । उहाँले पनि मलाई विशेष ‘गाईडेन्स’ दिनु भयो ।

मेरो स्कुलको अरु सरहरुले पनि मलाई विशेष ‘गाईडेन्स’ दिनु भयो । मेरो पढाइ राम्रो हुनुमा श्री माविका प्रधानाध्यापक राम अवतार यादव सरको पनि विशेष भूमिका रहेको छ । उहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु ।

उहाँले मलाई बारम्बार प्रोत्साहन गर्नुभयो कि बाबू तिमीले साँच्चै राम्रो गरिरहेका छौ । साथै तिमीले आफ्न्नो ‘पेस मेन्टेन’ गर्न सक्यौ भने पक्कै राम्रो गर्ने छौ । उहाँले अरु शिक्षकहरुलाई ममाथि ध्यान दिन भन्नु भएको थियो । त्यसको कारण मैले कुनै इन्स्टिच्युट नपढेको कारण हो । श्रीमाविका साइन्स पढाउने अमोद सर त्यस्तै गणित पढाउने सर सबै सबैको योगदान उत्तिकै महत्वपूर्ण छ मेरो सफलतामा ।

केवल छात्रवृत्तिको आशा गरेको मान्छे सर्वोत्कृष्ट नै भएको छु । यसले खुशी त बनाएको छ । पढ्न भने मैले पनि महाराजगञ्ज नै पढ्ने सोचाई राखेको छु । किनकि त्यहाँको पढाई राम्रो हुन्छ भनेर मेरा गुरुदेवहरुबाट र अरुहरुले पनि भनेको मैले सुनेको छु ।

काठमाण्डौमा खर्च व्यवस्थापनमै समस्या

पढाई खर्च नलागे पनि खाने बस्ने खर्च भने आफैंले व्यहोर्नु पर्छ । काठमाण्डौमा एमबीबीएस पढ्ने विद्यार्थीले ठिकै होस्टेल खोज्यो भने पनि वर्षको एक लाख पच्चीस हजार खर्च हुन्छ । त्यस हिसाबले पनि चार/पाँच लाख खर्च हुन्छ । त्यो जुटाउन पनि गाह्राे छ तर, त्यति खर्च भने परिवारले गर्छ होला । एमबीबीएसको विद्यार्थीको लगभग बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म पढाइ हुन्छ । दुई वर्षसम्म होस्टल दिइँदैन । अब कहिले पकाउनु कहिले खानु । त्यसले पनि पढ्नमा समस्या बनाउँदो रहेछ ।

अहिले हामी दुई भाइको कमभन्दा कम खर्च गर्दा पनि महिनाको लगभग दश हजार जति लाग्छ । भाडा चार हजार पाँचसय । बाँकी पाँच हजार पाँच सयमा सबै खर्च पुर्याउने गरेका छौं जसमा कपि किताब सबै पर्छ ।

यति थोरै खर्चमा पुग्नुमा खाजा खाने हाम्रो चलन छैन । ११ र १२ कक्षा पढ्दा कहिल्यै पनि क्यान्टिन गइनँ । घरमै बसियो भने पनि हाम्रो खाना खाने समय चाहिँ दश बजेतिर हुन्छ अनि रातिको खाना सात÷आठ बजे तिर खान्छौं । बीचमा कहिलेकाहीँ मात्र खाने गरेका छौँ, हैन भने खासै खाइँदैन ।

विश्व निकेतनमा पढ्दा पनि सरहरुले नै किताबका लागि सहयोग गर्नु भएको थियो । त्यस्तै बोटानिकल टुरहरुको खर्च पनि सरहरुले आफ्नो व्यक्तिगत तर्फबाट हालिदिने गर्नु भएको थियो । जसका लागि म विश्व निकेतनका नवराज लोहनी सरलाई पनि विशेष धन्यवाद दिन चाहान्छु । म यहाँसम्म आउन उहाँको पनि योगदान छ, किनभने उहाँले मलाई व्यक्तिगत तथा संस्थागत दुवै तर्फबाट सहयोग गर्नु भएको थियो ।

सामाजिक सञ्जालले पढाइ बिगार्छ

मोबाइलको कुरा गर्ने हो भने मसँग एउटा साधारण मोबाइल छ । एन्ड्रोइड सेट पनि छैन । सामाजिक सञ्जालमा पनि म कतै पनि छैन । नत्र अहिले भाइरल नै भै सक्थें होला । नत्र अहिले धेरैले बधाइ दिने र त्यसको रिप्लाइ दिंदै समय जान्थ्यो । त्यसले गर्दा मेरो जुन मेन्टालिटी छ त्यो पढाईतर्फ भएको छ ।

त्यसकारण मैले अलि थोरै पढे पनि धेरै कुरा दिमागमा हुन्छ । अनि बाँकी कुरा नभएपछि त्यतिले मलाई पुगेको छ । त्यसैले मैले राम्रो गरेको छु र राम्रो गर्दै जानेछु यस्तै रह्यो भने । सुरु सुरुमा चाहिँ मैले युट्युबहरुमा लेक्चर हेर्ने गरेको थिएँ । तर पछि कम रेटको भएको कारण त्यो पनि बिग्रियो । तर त्यस्ले मलाइ फरक परेको छैन । आफूले आफ्नो अवस्थालाई मेन्टेन गरेको छु र गरिनै रहने छु ।

वास्तबमा मलाई फेसबूक चलाउँ जस्तो पनि लाग्दैन । कहिले यो पनि लाग्छ कि हामी युवाको मुख्य समय बर्बाद गर्ने नै त्यही फेसबुक र टिकटक नै हो । तर त्यो हाम्रो आवस्यकता हैन । केही ज्ञान नपाइने होइन तर, समय बर्बाद गर्छ । यदि म मोबाइलमा भुल्ने टिकटकमा भुल्ने भएको भए नतिजा यस्तो नआउन पनि सक्थ्यो ।

धेरैलाई सामाजिक सञ्जालको लतबाट कसरी निस्कन सकिन्छ र भन्ने पनि होला । तर, जब सम्म यो खराब हो भन्ने लाग्दैन त्यसले हाम्रो ध्यान तानिरहेकै हुन्छ । हाम्रो दिमागबाट कुनै कुरालाई निकाल्न सकिन्न, के गर्न सकिन्छ भने अर्को कुरालाई हाल्न सकिन्छ ।

फेसबुकको प्रभाव अहिले तपाइँको दिमागमा बढी हुन सक्छ । ठिक छ तर यदि तपाईँले पढेर अलिकति राम्रो गर्नु भो भने तपार्इँले जुन प्रोत्साहन पाउनु हुनेछ त्यो प्रोत्साहनले तपाइँलाई यस्तो सघाउँछ कि त्यसपछि यो सोच्नु हुन्न कि यसरी समय खेर फालुँ । अनि तपाईँको मन पढाइमै लाग्छ ।

‘यति घण्टा पढ्छु हैन कि यति पढ्छु भन्नु पर्‍याे’  

हिजोआज जसले बढी पढ्यो उसको मात्र राम्रो गर्ने हो कि, उसको मात्र नाम निस्कने हो कि भन्ने लाग्छ । तर, यस्तो हुँदैन । वास्तवमा विज्ञानले के भन्छ भने ‘माइन्ड रिजेनेरेटस् ड्युरिङ रेस्ट’।

जब हामी रेस्ट गर्छाैँ त्यति बेला हाम्रो दिमागको गति कम हुन्छ त्यसबेला हामीले पढेको कुरा हाम्रो दिमागमा बस्छ । ती कुराहरु हामी बढीभन्दा बढी समय सम्झिन सक्छौं । र, हामीले जति कम कुरा दिमागमा फोकस गछौँ त्यती बढी कुरा बुझ्छौँ ।

हामीले धेरै अनावश्यक कुराको बारेमा सोच्याैँ भने त्यो पनि दिमागको एउटा कुनामा बस्ने भयो त्यसले पनि पढेको कुरा सम्झन अलिकति प्रभाव पार्दछ । विद्यार्थी साथीहरु ‘क्वालिटी म्याटर्स नट क्वान्टिटी’ जे पढ्नुछ त्यो पढनुस । म यति घण्टा पढ्छु हैन कि म यति पढ्छु भन्नु पर्यो ।

अब कहिले काँहिहामीलाई यस्तो हुन्छ की पढ्नै सकिदैन । त्यो दिन त बर्बादै भयो । तर, केही छैन अर्को दिन के गर्नुस् भने आज पढ्नु पर्ने र हिजो छुटेको कुराको ‘बेसिक’ अझ अलिकती बढी पढ्नुस् ।

मुख्यगरी ‘इन्ट्रान्स’ परीक्षाको लागि कक्षा ११ र १२ दुई वर्ष धेरै महत्वपूर्ण हुन्छ । यो दुई वर्ष तपाईंले एक, दुई वा तीन घण्टा पढ्यो भने पनि तपाईँको नाम निस्कन्छ । तर, सँधै तीन घण्टा भने पढ्नु पर्यो । अन्य कुरामा आफ्नो दिमागलाई उल्झाउन भएन ।

विद्यार्थी जीवन हो कहिलेकाँही एकछिन रमाइलो अनि केही संगीत सुन्दा हुन्छ । तर, त्यसलाई आफ्नो बानीको रुपमा नबसाउनुस् । सामाजिक सञ्जाल हेर्नु पर्छ । गीत सुन्नु पर्छ । तर, बानीको रुपमा होइन ।

थोरै पढौं, तर बुझेर पढाैँ । पढाइलाई आफ्नै तरिकाले बुझौँ । चित्रहरुको सहयोगले पढौं । टेबल बनाएर पढौं । फलोचाट बनाएर पढ्नुस त्यसरी तपाईंको नाम निस्कन्छ ।

तपाईंले कति ‘डेप्थ’मा बुझ्नु भयोे त्यो महत्वपूर्ण कुरा हो । एउटा ‘टपिक डेप्थ’मा राम्रोसँग बुझेपछि अर्को ‘टपिकमा’ अगाडि बढ्नुस् । यसरी आफ्नो समय बचाएर पढ्यो भने बाह्र घण्टा बराबर चार घण्टाको पढाइ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!