नेकपा एकीकृत समाजवादी पार्टी गण्डकीमा शुन्य, लुम्विनीमा खोल्यो खाता

मातृभूमी राजनितिक व्युरो । १६ भदौ काठमाण्डौ
निर्वाचन आयोगले दल रोज्नका लागि यही भदौ २२ गतेसम्मको समय निर्धारण गरेपछि नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले पार्टी छनोट गर्न थालेका छन् । प्रदेशसभा सदस्यहरूले मंगलबारदेखि एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गराइरहेका छन् । त्यस्तै, स्थानीय तहका जनप्रतिनिधिहरूले पनि पार्टी रोज्न थालेका छन् ।

माधवकुमार नेपाल एमालेमा रहँदा उनीनिकट मानिएका स्थायी कमिटीका १० नेताहरू पार्टी अलग्गिँदा एमालेमै रहे । अन्तिम समयमा नेता नेपाललाई धोका दिएको आरोप उनीहरूले खेप्दै आएका छन् । नेताहरू भीम रावल अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकणर् विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोराले पार्टी विभाजनमा नेपाललाई साथ दिएनन् ।

उनीहरू नयाँ पार्टीमा नआउँदा केही कमजोर देखिएको नेकपा (एकीकृत समाजवादी)लाई प्रदेशका जनप्रतिनिधिबाट भने राहत मिलेको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) एमाले भन्दा ठूलो दल बन्ने सम्भावना छ । गण्डकी प्रदेशसभामा भने उक्त पार्टीको प्रतिनिधित्व नरहने देखिएको छ । पार्टी विभाजनको ठूलो चोट एमालेले व्यहोर्नुपरेको छ । केन्द्रमा प्रधानमन्त्री, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री गुमाएको एमाले अब वाग्मती र प्रदेश नम्बर-१ को सरकारबाट पनि बाहिरिने निश्चित भएको छ । दुवै प्रदेशका सरकार अल्पमतमा परेका छन् । ती प्रदेशमा एकीकृत समाजवादीलाई भने फाइदा हुने देखिएको छ । दुवै प्रदेशमा उक्त पार्टीको सरकार बन्ने चर्चा छ ।

प्रदेश-१ : १० सांसद नेकपा (एकीकृत समाजवादी)मा, मुख्यमन्त्री अल्पमतमा

पार्टी विभाजनपछि प्रदेश नम्बर-१ को मुख्यमन्त्री बनेका एमाले सचिव भीम आचार्य अल्पमतमा परेका छन् । उनी एकल बहुमतको आधारमा संविधानको धारा (१६८) बमोजिम मुख्यमन्त्री बनेको ६ दिनमा नै अल्पमतमा परेका हुन् । एमालेबाट निर्वाचित प्रदेशसभाका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि उनको पद धरापमा परेको हो । बुधबार सांसदहरू राजन राई, खिनुलङ्वा लिम्बू, गणेश काम्वाङ, सरिता थापा, सुनीता कुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, पदम कुमार गुरुङ, कृष्ण कुमारी राई र उपेन्द्र घिमिरेले निर्वाचन कार्यालयमा पुगेर उक्त पार्टीमा सनाखत गरे ।

प्रदेश-१ मा सांसदको कुल संख्या ९३ हो । नेकपा (माओवादी केन्द्र)का एक सांसद एमाले प्रवेश गर्दा कारबाहीमा परेपछि हाल प्रदेशसभामा सांसद संख्या ९२ छ । बहुमतका लागि ४७ सांसद चाहिन्छ । प्रदेश-१ मा विपक्षी गठबन्धनतर्फ नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५ र जसपाका तीन गरी ३९ प्रदेशसभा सदस्य छन् । लिम्बुवान मुक्ति मोर्चाका पनि एक सांसद छन् ।

१० सांसदले (एकीकृत समाजवादी)मा सनाखत गरेसँगै ५१ सदस्यबाट एमाले ४१ सांसदमा खुम्चिएको छ । अझै केही सांसदहरू आफूहरूको पार्टीमा आउने सांसद राजेन्द्र राईको दाबी छ । राई प्रदेश-१ को मुख्यमन्त्री बन्ने चर्चा छ ।

प्रदेश-२ : एमाले भन्दा (एकीकृत समाजवादी) बलियो

प्रदेश नम्बर-२ मा एमाले भन्दा नेकपा (एकीकृत समाजवादी) बलियो देखिएको छ । प्रदेश-२ मा एमालेका २१ सांसद थिए । पार्टीमा विवादपछि १३ सांसद माधव पक्षमा खुले । केपी शर्मा ओली पक्षका नेतालाई हटाएर माधव पक्षका शत्रुधन महतो दलको नेता बनेका थिए । आफूहरूले विहिवार एकीकृत समाजवादीमा सनाखत गर्न लागेको महतोले जानकारी दिए ।

उनका अनुसार नेकपा (एकीकृत समाजवादी)मा गोविन्द बहादुर न्यौपाने, अशोक कुमार यादव, मदनसिंह श्रीवास्तव, प्रमोद कुमार यादव, मञ्जु कुमारी यादव, रवीन्द्र बैठा, बेची लुंगेली, हसीमा खातुन, नागेन्द्रराय यादव, सुन्दर बहादुर विश्वकर्मा, सीता गुरुङ, शत्रुधन महतोको सनाखत हुनेछ । सनाखतपछि सरकारमा पनि सहभागी हुने उनले बताए । प्रदेश-२ मा जसपाको नेतृत्वमा सरकार छ । १३ सांसद नयाँ पार्टीमा गए एमालेसँग ६ सांसद मात्रै रहनेछन् ।

वाग्मतीमा यस्तो छ अवस्था

वाग्मती प्रदेशमा माधवकुमार नेपाल पक्ष पहिलेको भन्दा पनि कमजोर अवस्थामा देखिएको छ । माधवकुमार नेपाल एमालेमा रहँदा उनको समूहमा उभिएका नेताहरू अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, अमृत बोहोरा लगायत एमालेमै रहँदा (नेकपा समाजवादी) केही कमजोर देखिएको हो । तथापि, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा (एमाले)बाट निर्वाचित १२ सांसदले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेसँगै शाक्यको पद धरापमा परेको हो ।

प्रदेश सांसदहरू राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाँई, वसन्त मानन्धर, रमा आले मगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले (एकीकृत समाजवादी) रोजे । मुख्यमन्त्री शाक्यले सामाजिक विकासमन्त्री बनाएका खनालले समेत समाजवादी रोजे । ११० सदस्यीय वाग्मती प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ ।

एमालेको सभामुख सहित ५६ सदस्य थिए । दोलखाका प्रदेश सांसद पशुपति चौलागाँईको कोरोना संक्रमणका कारण निधन भएकोले एक स्थान रिक्त छ । उनी एमालेबाट निर्वाचित भएका थिए । अब एमालेसँग ४३ सांसद छन् । अब अर्को पक्षबाट सरकार बन्ने निश्चित भएको छ । गठबन्धनबाट नेकपा (एकीकृत) समाजवादीका सांसद राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी छ ।

गण्डकीमा शून्य

नेकपा (एकीकृत समाजवादी)को अवस्था गण्डकी प्रदेशमा शून्य देखिएको छ । हालसम्म गण्डकीका सांसदहरूले उक्त पार्टीमा सनाखत गराएका छ्रैनन् । त्यसो त एमाले विवादका बखत पनि माधवकुमार नेपालको पक्षमा गण्डकीमा एक सांसद मात्रै थिए । सांसद इन्द्रलाल सापकोटा पनि एमालेमा रहने भएका छन् । प्रादेशिक रूपमा शून्य देखिए पनि स्थानीय तहमा भने उक्त पार्टीको पक्षमा जनप्रतिनिधि उभिने नेताहरूको दाबी छ ।

लुम्बिनीमा खाता खोल्यो

लुम्बिनी प्रदेशमा हालसम्म एमालेका एक सांसदले मात्रै एकीकृत समाजवादी रोजेका छन् । लुम्बिनीमा प्रदेशसभा सदस्य रमा घर्तीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छन् ।

कर्णालीमा के छ ?

माओवादी केन्द्रको सरकार जोगाउनका लागि चार एमाले सांसदले ‘फ्लोर क्रस’ गरेको कर्णाली प्रदेशमा एमाले नै बलियो देखिएको छ । एमालेको विवाद उत्कर्षमा पुगेका बेला कर्णालीका एमाले सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर बहादुर थापाले फ्लोर क्रस गरेर माओवादीको सरकार जोगाएका थिए । उनीहरू हाल पदमुक्त छन् ।

कर्णालीमा एमालेका तीन सांसदले (एकीकृत समाजवादी) रोजेका छन् । प्रदेशसभा सदस्यहरू चन्द्र बहादुर शाही, पदम बहादुर रोकाया र देवी ओलीले नेकपा (एकीकृत समाजवादी) छनोट गरेका हुन् ।

सुदूरपश्चिममा एमालेभन्दा ठूलो

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलको प्रदेशमा नेकपा (एकीकृत समाजवादी) ठूलो दल बन्ने देखिएको छ । रावलले एमाले रोजेपछि प्रदेशका सांसदले उनको साथ छाडेका छन् । मंगलबार प्रदेशसभाका १० सांसदले (एकीकृत समाजवादी) रोजेका हुन् । पूर्णा जोशी, माया भट्ट, दुर्गा विक, अमर साउँद, कुलवीर चौधरी, मीना साउँद, दल बहादुर सोडारी, चुन कुमारी चौधरी, लाल बहादुर खड्का र सुशीला बुढाथोकीले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । थप तीन सांसदले पनि एमाले छाडेर (एकीकृत समाजवादी) मा मंगलबार नै सनाखत गर्ने भनिएको थियो । तर, कागजपत्र नपुगेको भन्दै सनाखत नगरिएको सांसद तारा लामा तामाङले बताए ।

लामासँगै प्रदेशसभा सदस्यहरू दीर्घ बहादुर सोडारी र अर्चना गहतराजले उक्त पार्टीमा सनाखत गर्ने उनीहरूको भनाई छ । ती सांसदले सनाखत गरे उक्त दल एमालेभन्दा ठूलो बन्नेछ । एमाले सभामुख सहित १२ सदस्यमा खुम्चने छ । सुदूरपश्चिममा एमालेबाट सभामुख सहित २४ सांसद निर्वाचित भएका थिए । एमाले विवादमा माधवकुमार नेपालको पक्षमा १७ सांसद उभिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *