पहिरो पिडितले वुझाए नारायणका मेयरलाई ज्ञापनपत्र

मातृभूमी संवाददाता । ०१ चैत दैलेख
दैलेखको नारायण नगरपालिका ४ का पहिरो पिडितले मंगलवार जनप्रतिनिधीलाई भेटेर आफ्ना माग राखेका छन् । उनीहरुले नारायण नगरपालिकाका मेयर रत्नवहादुर खड्का र वडा नं. ४ का वडाध्यक्ष विरवहादुर कटुवाललाई ज्ञापन पत्र वुझाउदै तत्काल आफ्ना माग सम्वोधन गर्नुपर्ने अनुरोध गरेका छन् । नारायण नगरपालिका ४ भिरमौरा र ठाडीखोलाका पहिरो पिडितले मंगलवार नगरपालिका पुगेर विभिन्न पाँच वुँदे माग सहितको ज्ञापन पत्रमा सिचाँई कुलोको पुनःनिर्माण गर्न, पहिरोले गर्दा पुरिएका खेति योग्य जमिनको पुनःव्यवस्थापन गर्न, क्षतिपुर्तिको ब्यवस्था, पहिरोबाट पुरिएको खेति योग्य जमिनको कर मिनाह र पहिरो नियन्त्रण गरिदिन अनुरोध गरेका हुन् । धेरै पटक जनप्रतिनिधीसँग आफ्ना समस्या समाधानका लागि माग राख्दा सुनुवाई नभएकोले कार्यालयमै पुगेर ज्ञापन पत्र वुझाएको भिरमौरा खाध्य अधिकार समुहका अध्यक्ष टेकबहादुर रानाले जानकारी
दिए । अध्यक्ष रानाले ‘पहिरोका कारण ठाडीखोेला र भिरमौराका २४ घरधुरी पिडित भएको र जसले गर्दा खेतीयोग्य जमिनमा क्षती पुगी धान, मकै र गहुँ वाली उत्पादन घटेपछि वढीमा ६ महिनामात्र खान पुग्ने अवस्था आएको गुनासो गरे । उनले पहिला १२ महिना खान पुग्ने अवस्थावाट ६ महिनामा सिमित भएपछि २४ घरधुरी पिडित भएकोले ज्ञापनपत्र वुझाउन वाध्य भएको वताए ।
पिडित समुदायको ज्ञापनपत्र वुझ्दै नगर प्रमुख खड्काले समुदायमा परेको समस्यावारे आफ्नो ध्यानाकर्षण भएको र सो समस्या समाधान गर्न आफुले आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । उनले प्राविधिक सहित सो समुदायमा पुगी स्थलगत अध्ययन गरेर पिडित परिवारको माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
नारायण नगरपालिका वडा नं. ४ को ठाडीखोला भन्ने ठाँउमा २०७८ मा गएको पहिरोले सात घरधुरीको जग्गा पुरिएको छ भने भिरमौरामा २०७५ मा गएको पहिरोेले सिँचाई कुलो वगाएको र जसले गर्दा ६० रोपनी खेति योग्य जमिन सिँचाईबाट वञ्चित हुनुका साथै खानेपानीको मुहानमा पानीको सतह कम भएको पिडित समुदायको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *