दैलेखको आठवीसका निवर्तमान उपप्रमुखको सम्पति, २ घडेरी र ४० तोला सुनचाँदी

मातृभूमी संवाददाता । १४ जेठ दैलेख
दैलेखको आठबीस नगरपालिकाकी निवर्तमान उपप्रमुख दीपा बोहोराले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । पाँच वर्षे कार्यकाल सकाएर बिदा भएर जाँदा उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेकी हुन् ।
उपप्रमुख बोहोराले सार्वजनिक गरेको सम्पति विवरणमा दुई ठाउँमा गरी १४ लाखको घडेरी, तीन लाख ८ हजार ६ सय ३५ रुपैयाँ मौज्दात र १५ तोला सुन तथा २५ तोला चाँदी रहेको उल्लेख गरेकी छन् । बाँके जिल्लामा झण्डै ८ लाख पर्ने ५०६।९६ क्षेत्रफलमा फैलिएको जग्गा रहेको विवरणमा उल्लेख गरेकी छन् ।
यस्तै, दैलेख जिल्लाको सदरमुकाममा ६ लाख पर्ने अर्को ००१४० क्षेत्रफलको घडेरी रहेको र दुई वटै घडेरी उनले नोकरी (जागिर) गरेर नै खरिद गरेको विवरणमा उल्लेख छ । बोहोराले दुई वटा बैंकमा गरि ३ लाख ८ हजार ६ सय ३५ रुपैयाँ मौज्दात रहेको छ ।
बोहोराकै नामको नेपाल इन्भेष्टेमेण्ट बैंकमा जनप्रतिनिधिबाट प्राप्त गरेको जम्मा ५७ हजार ९ सय ७१ रकम मौज्दात र कृषि विकास बैंकमा दुई लाख ५० हजार ६ सय ६४ रुपैयाँ मौज्दात रहेको छ । यो रकम सेवा सुविधाबाट जम्मा गरिएको उल्लेख गरेकी छन् ।
यस्तै, बोहोराको चल सम्पत्तिमा १५ तोला सुन र २५ तोला चाँदी रहेको छ । उक्त सम्पत्ति केही माईतिबाट, केही पैत्रिक श्रोत र केही खरिद गरेको बताएकी छन् । उपप्रमुख बोहोराले सार्वजनिक गरेको विवरण अनुसार उनले आफ्नो नाममा रहेको सम्पत्ति विवरण मात्र सार्वजनिक गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *