युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक ग्लोबल छनोटमा

मातृभूमी संवाददाता । ०५ जेठ काठमाण्डौ
आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट अर्न्तगत सुपर ३ को खेलमा युएईलाई पराजित गर्दै नेपाल पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेको छ । सोमवार भएको सुपर ३ अर्न्तगतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।
युएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन् । त्यस्तै पूर्वकप्तान रुबिना क्षेत्रीले २३ रनको योगदान दिइन् ।
त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाउँदै नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको थियो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए । नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ । उक्त खेलको नतिजा जस्तो आएपनि नेपाललाई फरक भने पर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *