द्वन्द्वकालमा विद्रोही पक्षबाट हत्या गरिएका पत्रकार थापाको परिवारसँग प्रचण्डको भेट

मातृभूमी संवाददाता । ०५ जेठ दैलेख
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साेमवार बिहान स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको परिवारलाई भेटेका छन् । १० वर्षे सशस्त्र युद्धका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट हत्या गरिएका दैलेखका पत्रकार थापाको घरमा पुगेर परिवारसँग भेटघाट गरेका हुन् ।
‘मध्यपहाडी राजमार्ग अभियान’ अर्न्तगत दैलेख आएका प्रचण्डले मर्निङ वाकका क्रममा दैलेख सदरमुकाममा रहेको डेकेन्द्रराज थापाको सालिकमा माल्यार्पण गरेपछि थापाको घरमै पुगेर परिवारसँग भेट गरेका हुन् ।
अध्यक्ष प्रचण्ड घरमा पुगेपछि थापाका परिवारले खादामालाले सम्मान गरेका थिए । थापाको घरमा पुगेर प्रचण्डले उक्त घटनाबारे पुनः आत्मालोचना गरेको स्वर्गीय पत्रकार थापाका कान्छा भाई यज्ञराज थापाले जानकारी दिए । परिवारसँगको भेटमा अध्यक्ष प्रचण्डले त्यतिवेला आफुहरुबाट गल्ती भएको भन्दै त्यसका लागि आत्मालोचना पनि गरेको र उतिवेला देखिनै गल्ती भएको कुरा स्वीकार गर्दै आएको बताए । साथै प्रचण्डले थापाको परिवारप्रति आफ्नो पार्टीको उच्च सम्मान रहेको र परिवारले पनि आफूहरूबाट भएको गल्तीलाई स्वीकार गरिदिन प्रचण्डले अनुरोध समेत गरे ।
पुर्व प्रधानमन्त्री प्रचण्ड घरमै आएर आत्मालोचना गरेको विषयलाई आफ्नो परिवारप्रति गरेको सम्मानका रूपमा आफुहरुले बुझेको कान्छा भाई थापाले वताए । उक्त घटनामा संलग्न केही कानुनी दायरामा आइसकेको भन्दै उक्त विषयमा भने खासै कुरा नभएको थापाले बताए । कान्छा भाई थापाले भने, ‘अदालती प्रक्रिया चलिरहेकाले त्यो विषयमा खासै कुराकानी भएन, हामीले पनि सोधेनौँ ।’ पत्रकार थापाको नौमुले गाउँपालिका ३, द्वारीमा २०६१ साउन २७ गते हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *