भगवतीमाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सम्मानित
मातृभूमी संवाददाता । ०५ जेठ दैलेख
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गरेका छन् । अध्यक्ष दाहालले ७ सय ५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना खड्कालाई सम्मान गरेका हुन् । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष थापा नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन् ।
त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ ।
सो अवसरमा अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारेका थिए । उनले भने “यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ ।”
उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

