मनाइयो कृष्णसेन ‘इच्छुक’को २३ औं स्मृति दिवस

मातृभूमी सवाददाता । १३ जेठ दैलेख
दैलेखमा पत्रकार कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवस मनाइएको छ । प्रेस सेन्टर नेपाल, दैलेखले सोमबार जिल्ला सदरमुकाममा ‘द्वन्द्व र पत्रकारिता विषयक’ अन्तरसंवाद कार्यक्रम आयोजना गरी इच्छुकको योगदानलाई सम्झिँदै स्मृति दिवस मनाएको हो ।
द्वन्द्वकालमा ज्यान गुमाएका पत्रकार कृष्ण सेन ‘इच्छुक’ र डेकेन्द्रराज थापाको तस्बिरमा एकै साथ टिका अर्पण गर्दै दिवस मनाइएको हो । कार्यक्रमको सुरुवातमै पत्रकार इच्छुक र थापाको संयुक्त तस्बिरमा श्रद्धासुमन अर्पण गरिएको थियो ।
कार्यक्रममा उपस्थित पत्रकार, नागरिक अगुवा र राजनीतिक दलका प्रतिनिधिहरूले दुवै सहिद पत्रकारप्रति सम्मान व्यक्त गर्दै द्वन्द्वकालीन पत्रकारिताको साहसिक यात्रालाई स्मरण गरेका थिए । वक्ताहरूले यस कार्यक्रमले सत्यको पक्षमा कलम चलाउने हिम्मतलाई सम्मान गरेको धारणा व्यक्त गरेका थिए ।


प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले द्वन्द्व संवेदनशील पत्रकारिताको आवश्यकतामाथि जोड दिए । उनले निष्पक्ष र जिम्मेवार पत्रकारितामा प्रशासनको साथ रहने प्रतिवद्धता व्यक्त गरे । यस्तै, नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले इच्छुकले राज्यका विकृति र बेथिति माथि कलम चलाएकै कारण पटक–पटक थुनामा परेको र अन्ततः हत्या गरिएको उल्लेख गरे ।


नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले परिवर्तनको पक्षमा पत्रकारहरूले खेलेको भूमिकालाई स्मरण गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर खाणले लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न मिडियाको साथ आवश्यक रहेको बताए ।
इच्छुकको ‘शोकाञ्जली’ ‘इतिहासको घडीमा’ ‘बन्दी र चन्द्रागिरी’ कविता संग्रह अझै पनि सामाजिक चेतनाका अमूल्य दस्तावेज मानिएको छ ।
कृष्णसेन ‘इच्छुक’ तत्कालीन जनआदेश साप्ताहिकका सम्पादक थिए । २०५८ जेठ १३ गते हिरासतमै उनको हत्या गरिएको थियो । दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई पनि २०६१ सालमा विद्रोही पक्षले अपहरणपछि हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *