दैलेखको दुल्लु नगरपालिकाका सबै घरको ‘बीमा’ गरिने
मातृभूमी संवाददाता । १३ जेठ दैलेख
दैलेखको दुल्लु नगरपालिकाले पालिकाभरी घरको बीमा गर्ने भएको छ । कर्णाली प्रदेश सरकार अर्न्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सञ्चालन गरेको घर बीमा कार्यक्रम अर्न्तगत नेको इन्स्योरेन्स लिमिटेड मार्फत बिमा प्रक्रिया अगाडि बढाइएको हो ।
प्राकृतिक विपत्तिबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्य सहित सञ्चालन गरिएको यस कार्यक्रमले आगलागी, बाढी पहिरो, भूकम्प लगायतका प्राकृतिक जोखिमको बीमा सुरक्षा प्रदान गर्नेछ । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै प्रदेश सरकारले ७९ वटै स्थानीय तहलाई कार्यविधि तयार गरी प्राविधिक सहयोग सहितको लागि पत्राचार गरेको थियो ।
तीमध्ये हालसम्म २३ वटा स्थानीय तहले कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाए अनुसार दुल्लु नगरपालिकाले पनि उक्त कार्यक्रममा सहभागी भई सबै घरधुरीको बीमा गर्ने निर्णय गरेको हो । मंगलवार दुल्लुमा आयोजित घर बीमा सम्बन्धी छलफल कार्यक्रममा प्रदेश सरकारको बजेटको प्रभावकारी उपयोग गर्दै बीमा कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य विषयमा छलफल गरिएको थियो ।
छलफलका क्रममा नेको इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख रमेशराज शर्माले बीमाको महत्व, जोखिम वहन प्रक्रिया, क्षति भएमा कसरी दाबी गर्ने र बीमा गर्न आवश्यक पर्ने कागजातबारे विस्तृत जानकारी दिएका थिए ।
छलफल कार्यक्रममा दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत तिलक विक, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा बीमा कम्पनीका तर्फबाट नेको इन्सुरेन्स लि. कर्णाली प्रदेश प्रमुख रमेशराज शर्मा र दैलेख उपशाखा इन्चार्ज सौरभ चन्दको उपस्थिति रहेको थियो ।

