पूर्वराज्यमन्त्री खड्काको ८२ वर्षकाे उमेरमा निधन

मातृभूमी संवाददाता । १५ जेठ दैलेख
नेपाली कांग्रेस दैलेखका नेता तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ । उनको दैलेखको नारायण नगरपालिका ७ किमुगाउँ स्थित आफ्नै निवासमा विहीवार विहान निधन भएको हो । नेपाली कांग्रेस दैलेखका तत्कालिन सभापति समेत रहेका खड्का २०४८, २०५१ मा प्रतिनिधिसभा सदस्य र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समेत गरी तीन पटक निर्वाचित भएका थिए । उनी २०६४ सालमा तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लाका ३० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट जित्ने एक्लो साँसद समेत हुन् ।
वि.सं. २०५२ सालमा शेरबहादुर देउवाको मन्त्री मण्डलमा निर्माण तथा यातायात व्यवस्था सहायक मन्त्री बनेकै समयमा खड्काको पहलमा सुर्खेत–दैलेख मोटरबाटो र बिजुली बत्ति दैलेख सदरमुकाममा पुगेको थियो । २०६६ सालमा माधव नेपालको मन्त्रीमण्डलमा खड्का स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।
२०२५ सालदेखि राजनीतिमा सक्रिय रहेका खड्का २०२७ देखि २०३० सम्मका नेपाली काँग्रेस दैलेखको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म पार्टी सभापति थिए । दैलेखमा उनको नेतृत्वमा २०६२/०६३ को दोस्रो जनआन्दोलमा लोकतान्त्रिक आन्दोलन भएको थियो ।
वि.सं. १९९९ साउन १४ गते दैलेखको किमुगाउँमा जन्मिएका खड्काका श्रीमति, २ छोरा र ४ छोरी छन् । जेठो छोरा र जेठी छोरीको यसअघि नै निधन भइसकेको छ । दैलेखको अग्रज राजीतिक व्यक्ति खड्काको राजनीतिक आन्दोलनको उपलब्धीको उत्सव गणतन्त्र दिवसको दिन निधन भएको छ । उनको विहीवार नै श्रीस्थानमा दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *