दैलेखमा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यू

मातृभूमी संवाददाता । २३ जेठ दैलेख
दैलेखमा सिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्केर एक जनाको मृत्यू भएको छ । गएराति जंगली जनावरको सिकारबाट घर फर्किने क्रममा ओरालो बाटो झरिरहेको बेला साथी चिप्लिएर बन्दुक पड्किँदा पछाडि रहेका साथीको मृत्यू भएको दैलेख प्रहरीले जनाएको छ ।
महाबु गाउँपालिका ४ बतासे स्थित आफ्नो गाउँबस्तीमा पुग्नै लागेको बेला अघि रहेका साथी सूर्यबहादुर थापा बलामी चिप्लिँदा बन्दुक पड्किएर पछि रहेका साथी जीवन बहादुर थापा सलामीको छातिमा छर्रा लागेर घटना स्थमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश वहादुर बरालले बताए ।
लेकाली जंगलमा सिकार गर्न गएका ६ जना मध्ये तीन जना माथिल्लो बस्ती पिपलडाँडा गाउँको आ–आफ्नो घरमा रोकिएको र बतासे गाउँका तीन जना घर पुग्न आधा किलोमीटर मात्र बाँकी रहँदा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी बरालले बताए ।
सूर्यबहादुर चिप्लिँदा पड्किएको बन्दुकको गोलीले जीवन बहादुर थापा सलामीको छातिको अघिल्लो भागबाट ढाड छेडेको छ । घटनाका प्रत्यक्षदर्शी ओमबहादुर बलामीसँग प्रहरीले थप सोधपुछ सुरु गरेको छ । मृतकको झोलामा गाउँमा काटेको खसीको मासु र माछा पनि फेला परेको घटना स्थल पुगेका स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *