दैलेख जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा दर्ता
मातृभूमी संवाददाता । ३१ असार दैलेख
दैलेख जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा ४ सय ४ मुद्दा दर्ता भएका छन् । आर्थिक २०८०/०८१ मा फैसला हुन बाँकी रहेका १ सय २९ र चालु आर्थिक वर्षमा दर्ता भएका ४ सय ४ गरि जम्मा ५ सय ३३ मुद्धा अदालतमा दर्ता भएका थिए । अदालतले यस अवधिमा ७२ दशमलव २३ प्रतिशत मुद्दाको फैसला गरेको छ ।
यस्तै १ सय ४८ मुद्दा अझै फैसला हुन बाँकी रहेको अदालतका श्रेस्तेदार वीरेन्द्र बहादुर मल्लले जानकारी दिए । सबैभन्दा बढी दर्ता हुने मुद्दा सम्बन्ध बिच्छेदका रहेको श्रेस्तेदार मल्लले बताए । चालु आर्थिक वर्षमा २ सय ३६ वटा सम्वन्ध विच्छेदका मुद्धा दर्ता भएको र हालसम्म ४४ दशमलव २७ प्रतिशत मुद्धा फैसला भएको श्रेस्तेदार मल्लको भनाई छ ।
चालु आर्थिक वर्षमा ३ सय ८५ मुद्धा फैसला भएका छन् । अघिल्लो आ.ब.बाट लगत सरि आएका १ सय १८ र नयाँ दर्ता भएका मध्ये २ सय ६७ मुद्दा फैसला भएका छन् । चालु आ.वमा फैसला हुन बाँकी रहेका १ सय ४८ मुद्दा मध्ये ६ महिनाभित्र १ सय ११, ६ देखी १२ महिनाभित्र १९, १२ देखी १८ महिनाभित्र ७ र १८ महिना नाघेका २ वटा मुद्दा रहेका छन् । यसैगरी थुनुवाको संख्या २५ रहेको छ । जसमा ३ जना वालवालिका, ३ जना महिला र १९ जना पुरुष रहेका छन् ।
पत्रकार सम्मेलनमा दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले सम्बन्ध बिच्छेद हुनुको मुख्य कारण सामाजिक संजाल तथा आधुनिक प्रविधि, गरिवी तथा वैदेशिक रोजगार र अर्को विवाह गरेर नयाँ ठाउँमा जाँदा नयाँ श्रीमानको थर कायम गर्न अनिवार्य सम्वन्ध विच्छेद गर्नुपर्ने कारण सम्बन्ध बिच्छेदका मुद्धा धेरै रहेको बताए । न्यायधिश पाण्डेले यस वर्ष केही मुद्दा फैसला हुन बाँकी रहेको र आगामी आ.व.मा सबै मुद्दा फैसला गर्ने प्रतिबद्धता व्यक्त गरे ।

