जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सास्ती
मातृभूमी संवाददाता । २७ श्रवाण दैलेख
जिल्ला प्रसाशन कार्यालय दैलेखमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नु परेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि ७० देखि ८० वर्षसम्मका वृद्धवृद्धा पनि लाइनमा बसेको देखिन्छ ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धाको भिड लाग्ने गरेको छ । नागरिकता, राहदानी, सिफारिस लगायत नियमित कामसँगै राष्ट्रिय परिचयपत्रका लागि ज्येष्ठ नागरिकहरु थपिएपछि प्रशासनमा सेवाग्राहीको भिड बढेको हो । चारदिनदेखि लाईनमा बस्नुपर्दा ज्येष्ठ नागरिकहरुलाई निकै सास्ती भएको नारायण नगरपालिका ११ टाटामाखुका ७१ वर्षीया कौशिला बिकले बताइन् । जेष्ठ नागरिकको सहजताका लागि सके नागरिकताबाटै नभए वडा कार्यालयबाटै परिचयपत्र बनाउने कामको थालनी गरे सहज उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा पछिल्लो साउन १ गते यता सेवाग्राहीको भिड बढेको छ । जिल्ला प्रशासन कार्यालयले भने सेवा प्रवाहलाई चुस्त बनाउन तथा सकेसम्म एकैदिनमा सेवा दिनेगरी काम अघि बढाएको र भोलिबाट काम गर्न केहि सहज हुने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रिसीराम उपाध्याले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय दैलेखले सेवाग्राहिको सहजताका लागि काम गरे पनि ७० वर्षसम्मका जेष्ठ नागरिकहरु गाउँदेखि बजारसम्म बर्षाको पानिमा आएर पनि पालो पर्खिएर परिचयपत्र बनाउन बाध्य छन् । पालो लगाउन बिहान ९ बजे नै जिल्ला प्रशासन कार्यालयमा पुगे पनि कतिपय सेवाग्राहीले भने कागजात नपुगेको भन्दै फिर्ता हुनु परेको गुनासो गरेका छन् ।
साउनको झरिमा गाउँदेखि बजारसम्म आएर घण्टौं लाइनमा उभिएर पालो पर्खिदा दुख लागेको नारायण नगरपालिका ४ का ७८ वर्षीय मन बहादुर कामीले बताए। उहाँले सरकारले जेष्ठ नागरिकको सहजताका लागि काम गर्ने बेला दुःख दिने खालका कार्यक्रम ल्याएको भन्दै आक्रोश पोखे। राष्ट्रिय परिचयपत्र बनाउन आएका अधिकांशले राष्ट्रिय परिचयपत्र निर्माणको कार्यलाई पालिका स्तरबाट सहज बनाउने प्रयास गरेपनि पालिका र वडाबाट बनाएको केही राष्ट्रिय परिचयपत्र बिग्रिए र फेरी बनाउन पर्दा धेरै समय खर्च भएकाे गुनासाे गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कार्यालय दैलेखबाट दैनिक दुई तिन सय लाईनमा बस्ने गरेको, दिनभरीमा ५० जनाको बन्ने र अन्य सबै सेवाग्राही खाली हात घर फर्किने गरेको जिल्ला प्रशासन कार्यालय दैलेखका एक कर्माचारीले नाम नछाप्ने शर्तमा जानकारी दिए । साउन भित्रै सबै जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र मार्फत सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेपछि परिचयपत्र बनाउनेको भिड बढेको हो । ज्येष्ठ नागरिकलाई सहज हुने गरी परिचयपत्र बनाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

