निजी विद्यालयहरु उत्तरदायी बन्नुपर्छ : सभापति थापा
मातृभूमी संवाददाता । ११ भाद्र दैलेख
संघीय संसद प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले संसदमा विचाराधीन विधेयकमा निजी विद्यालयहरुलाई उत्तरदायी मात्र बनाउन खोजिएको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) नेपाल दैलेखले बुधबार सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो वताएका हुन् ।
प्याव्सनले भने जस्तो निजी विद्यालयहरुलाई पूरा अहित वा दवावमा राख्न खोजेको भन्ने आरोप खण्डन गर्दै सभापति थापाले व्यक्तिगत लगानीमा गुणस्तरीय शिक्षामा निजी विद्यालयको योगदानलाई कदर गरेको बताए । उनले प्याव्सनले अपूरो जानकारीका आधारमा कानून हस्तक्षेपकारी आएको भन्ने भ्रम फैलाएको प्रति असन्तुष्टि ब्यक्त गरे ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) नेपाल दैलेखका अध्यक्ष भुवन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सुवास कुमार थापा, सल्लाहकार सदस्य बालकृष्ण केसी, शिक्षासंग सरोकारवाला र पत्रकार लगाएतको उपस्थितिमा भएको कार्यक्रममा संसदमा विचाराधीन विधेयक र शैक्षिक सुधारका लागि समेट्नुपर्ने विषय बारे छलफल भएको थियो ।
ऐनमा निजी विद्यालयलाई गुठीमा लैजान खोजिएको, वाध्यकारी रुपमा मुनाफा रहित बनाउन लागिएको र पूर्ण छात्रबृति दिने व्यवस्थाले लगानी डुब्ने अवस्था रहेको प्याव्सनका केन्द्रिय सदस्य सुवास कुमार थापाले वताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) नेपालले देशव्यापी आन्दोलनको घोषणा गरेको र भाद्र १२ गते बिहीबारका दिन देशभर प्रशासन कार्यालयमा धर्नाको कार्यक्रम तय गरिएको केन्द्रिय सदस्य थापाले वताए ।

