अरिंगाल र सर्पले टोकेर दुई बालिका घाइते

मातृभूमी संवाददाता । १७ भाद्र दैलेख
दैलेखमा दुई छुट्टाछुट्टै ठाउँमा भएका घटनामा विद्यालय जान हिंडेका दुई बालिका घाईते भएका छन् । अरिंगाल र सर्पको टोकाईबाट विद्यालय जान हिंडेका दुई बालिका घाईते भएका हुन् । दैलेखको डुंगेश्वर गाउँपालिका २ उमकी ८ वर्षीया प्रतिमा थापालाई अरिंगाल र नारायण नगरपालिका ११ बिन्ध्यवासिनीकी ११ वर्षीया यमुना सुनार सर्पले टोकाईबाट घाइते भएका हुन् । घाईते दुवै जना बालिकाको दैलेख अस्पतालमा उपचार भैरहेको छ ।
डुंगेश्वर गाउँपालिका २ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय उममा कक्षा ३ मा अध्यनरत प्रतिमालाई विद्यालय जान हिंडिरहेको बेला टाउरी भन्ने ठाउँमा साथीहरुले जिस्काएको अरिंगालले टोकेको दिदी लीला थापाले बताईन् । त्यस्तै रैनादेवी मावि नारायण नगरपालिका ११ टाटामाखुमा रहेको विद्यालय जाँदै गर्दा कक्षा ६ मा अध्ययनरत यमुनालाई बाजकाटियाँ नजिक सर्पले हातमा टोकेको बताइएको छ ।
घटनाको लगतै दैलेख अस्पताल पुर्‍याइएका बालिकाहरुको उपचार भैरहेको र अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका निमिक्त कार्यालय प्रमुख डा. मनोज बिश्वकर्माले जानकारी दिए । सर्प दंश बढेकोले राति वा अध्यारो ठाउँमा काम गर्दा वा हिंडडुल गर्दा टर्चलाइट बालेर काम गर्न र हिडडुल गर्न डा. बिश्वकर्माले सुझाव दिए । अरिंगाल नजिस्काउन पनि उहाँले आम सर्वसाधारणलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *