एभरेस्ट महिला भलिबल लिगमा कर्णालीकाे दाेस्राे जित, लुम्बिनी ३–१ काे सेटमा पराजित

मातृभूमी संवाददाता । २१ भाद्र पाेखरा
पोखरामा जारी दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यश्विसले लुम्बिनी लाभाजलाई पराजित गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको खेलमा साविक विजेता कर्णालीले लुम्बिनीलाई ३–१ को सेटमा पराजित गर्‍यो । खेलको पहिलो सेट लुम्बिनीले २५–२३ ले जितेको थियो । त्यसपछिका सेट पनि निकै प्रतिस्पर्धात्मक रहे । कर्णालीले दोस्रो सेटमा २५–२१, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २५–२२ को जित निकाल्यो ।
तेस्रो सेटको खेल चलिरहँदा कप्तान एवं मार्की खेलाडी अरुणा शाही घाइते भएपछि लुम्बिनी निकै दबाबमा थियो । बल रिसिभ गर्ने क्रममा उनी आफ्नै टिमकी भेरोनिका जुबरेभासँग ठोक्किएकी थिइन् । अरुणाको टाउकोमा चोट लागेपछि उनी मैदान बाहिर रहिन् । यतिबेला कर्णाली २१–१७ अंक बनाएर अगाडि थियो ।
लुम्बिनीका खेलाडी दबाबमा रहँदा त्यसपछि कर्णालीले लगातार ४ अंक जोडेर सेट आफ्नो पक्षमा पार्‍यो । चौथो सेटमा प्रदर्शन सुधार भए पनि जितका लागि पर्याप्त रहेन ।
कर्णालीको यो दोस्रो जित हो । कर्णालीले शुक्रबार पहिलो खेलमा घरेलु टिम पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । लुम्बिनीको भने यो पहिलो खेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *