विभिन्न चार दलका नारायण नगर कमिटिद्धारा संयुक्त विज्ञप्ती जारी
मातृभूमी संवाददाता । ३१ भाद्र दैलेख
दैलेखको नारायण नगरपालिकामा क्रियाशिल राजनितिक दलका नगर कमिटिहरुले जेनजी युवाहरुको आह्वानमा उठेको सामाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवा, भ्रष्टचारको अन्त्य, सुशासन लगायतका माग सहितको प्रदर्शनका क्रममा भएको जनधनको क्षति र त्यसपछि विकसित राजनीतिक घटनाको ध्यानाकर्षण गराएका छन् । जिल्लामा क्रियाशिल नगर कमिटीका चार दलका प्रमुख तथा प्रतिनिधिले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।
चार दलका प्रमुख तथा प्रतिनिधिले संयुक्त विज्ञप्तिमा आन्दोलनको क्रममा ज्यान गुमाउने सबै जेनजी युवाहरु लगायत सम्पूर्ण दिवंगतहरुप्रति श्रद्वान्जलि अर्पण र घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचार र घाइते परिवारलाई क्षतिपूर्तिको माग गरेका हुन् ।
‘युवाहरुको शान्तिपूर्ण प्रदर्शनको मर्म विपरीत बाह्य इसारामा भइरहेका घुसपैठ तथा अराजक हर्कतबाट मूलुकलाई मुक्त गरी स्वतन्त्र सार्वभौम राष्ट्रको पहिचान कायम गर्न तथा नेपाली जनताको दशकौं लामो बलीदानबाट प्राप्त लोकत्रान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टचार र सुशासनको मुद्दाहरुलाई अनिवार्य उठान गरी वर्तमान संवैधानिक प्रक्रियाबाट सरकार गठन गर्नुपर्ने र विगठित संसदलाई पुर्नःवहाली गरी संशोधन प्रस्ताव मार्फत युवाहरुका जायज माग पुरा गर्न जोडदार माग गर्दै सम्माननीय राष्ट्रपतिज्यू, सम्पूर्ण राजनीतिक दल, संवैधानिक अंगहरु, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरु, नागरीक समाज, बुद्धिजिवी, प्रगतिशिल देशभक्त जनसमुदाय सहित सम्बद्ध पक्षहरुसँग हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेस नारायण नगर कार्य समिति सभापति मनोज कुमार थापा, नेकपा माओवादी नारायण नगर संगठन कमिटिका संयोजक नन्दाराम रेग्मी, नेकपा एमाले नारायण नगर कमिटिका अध्यक्ष दुर्गा प्रसाद न्यौपाने, नेकपा एकिकृत समाजवादी नारायण नगर संगठनका अध्यक्ष हर्क बहादुर नेपालीले हस्ताक्षर गरेका छन् ।

