दैलेखका स्थानीय तहलाई प्रशासनको छ बुँदे परिपत्र
मातृभूमी संवाददाता । ३० असोज दैलेख
दैलेखका स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि छ बुँदे परिपत्र गरेको छ । पछिल्लो समय समाजमा हिंसा अपराध, लागु औषध दुर्व्यसनी, नकारात्मक सोचका कारण आत्महत्या बढ्दै गएको र त्यसको न्यूनीकरण गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्न स्थानीय तहलाई परिपत्र गरिएका जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
यस्तै स्थानीय स्तरमा शान्ति सुरक्षा, अपराध न्यूनीकरण, विकृति विसंगति नियन्त्रण, विपद् व्यवस्थापन लगायतका कार्यमा सहजीकरण गर्नका वडा स्तरका जनप्रतिनिधि, प्रधानाध्यापक तथा अन्य शिक्षक, प्रहरी चौकीका प्रमुख, व्यवसायी, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूको सञ्जाल निर्माण गर्ने, विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयमा नियमित पठनपाठन, विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम र अतिरिक्त क्रियाकलाप बाहेक अन्य कुनै किसिमका राजनीतिक कार्यक्रम, मेला तथा जात्रा लगायतका अन्य गतिविधि नियन्त्रणका लागि पहल गरिनु पर्ने, विद्यालयको नियमित अनुगमन नभएको व्यापक गुनासो आएका कारण नियमित र प्रभावकारी अनुगमनको व्यवस्था गरिदिनु भन्दै छ बुँदे परिपत्र गरिएको जनाईएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले स्थानीय तहले जिल्ला प्रशासन कार्यालयले जारी गरेको परिपत्र कार्यान्वयन गरेको खण्डमा समाजमा हुने हिंसा अपराध, लागुऔषध दुर्व्यसनी, नकारात्मक सोचका कारण आत्महत्या रोकथाममा टेवा पुग्ने बताए । प्रमुख जिल्ला अधिकारी गैह्रेले सभ्य समाज निर्माणका लागि स्थानीय तहले परिपत्र अनुसारको कार्यक्रम आयोजना गर्ने र प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले त्यसको सहजीकरण गर्ने बताए ।
भगवतीमाई गाउँपालिका दैलेखका अध्यक्ष गणेशबहादुर थापाले जिल्ला प्रशासन कार्यालयले गरेको परिपत्र प्राप्त भएको भन्दै त्यस अनुसारका कार्यक्रम आयोजना गर्न, समन्वय र सहकार्य गर्न गाउँपालिका तयार रहेको बताए । अध्यक्ष थापाले परिपत्रमा उल्लेख गरिएका विषयमा गाउँपालिकाले काम गरेको भए पनि प्रभावकारी हुन नसकेको बताउँदै अब प्रशासन, प्रहरी र अन्य निकायसँग समन्वय गरी कार्यक्रम प्रभावकारी बनाउने बताए ।

