दैलेखमा लोकसेवा आयोगका तयारी कक्षा सुरु

जित बहादुर थापा (रोशन)
०८ श्रावण, दैलेख
दैलेख सदरमुकाममा लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षाहरु औपचारिक रूपमा सुरु भएको छ । नारायण नगरपालिका १ देवकोटा चोकमा रहेको स्मार्ट इन्स्टिच्युटमा तयारी कक्षा औपचारिक रुपमा सुरु भएको हो ।
कर्णाली प्रदेश तथा दैलेख जिल्लाका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई स्थानीयस्तरमै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको इन्स्टिच्युटका सञ्चालक हिक्मत बुढाले जानकारी दिए । लोकसेवा तथा शिक्षक सेवा आयोगकको परीक्षाको तयारीका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको उको भनाई छ । स्थानीय स्तरमै कम शुल्कमा उत्कृष्ट र परीक्षा केन्द्रित अध्यापन गराइने सञ्चालक बुढाले प्रतिबद्धता समेत व्यक्त गरे ।
विभिन्न आयोगका कक्षाको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका शाखा अधिकृत एवं प्रशिक्षक नरबहादुर सलामीले लोकसेवा परीक्षा उत्तीर्ण गर्न केवल कडा मिहिनेत मात्र नभई ‘स्मार्ट’ अध्ययन शैली, नियमित लेखन अभ्यास र पाठ्यक्रमको सही विश्लेषण आवश्यक रहेको बताए । उहाँले विद्यार्थीहरूलाई परीक्षाको नवीनतम् पाठ्यक्रम अनुसार रणनीति बनाएर तयारी गर्न र आत्मविश्वासका साथ अघि बढ्न विशेष मार्गदर्शन र हौसला प्रदान गरे ।
यस्तै नेपाल सरकारका शाखा अधिकृत तथा मुख्य प्रशिक्षक रमेश पौडेलले विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै आफ्नो निश्चित उद्देश्य र लक्ष्यप्रति अडिग रहेर निरन्तर मिहिनेत गरेमा लोकसेवा आयोगको परीक्षामा शतप्रतिशत सफल हुन सकिने विश्वास दिलाए । उनले लोकसेवा कुनै कठिन परीक्षा नभएर केवल अनुशासन र निरन्तरताको खेल भएको उल्लेख गर्दै नियमित अध्ययन नै सफलताको मुख्य कडी भएको बताए ।
अर्का प्रशिक्षक शिक्षा अधिकृत सूर्यलाल पाण्डेले आफू विगतमा शिक्षण पेसामा रहँदाको लामो अनुभव र भोगाइहरू सहभागी माझ साटासाट गरेका थिए । उनले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न र कुशल शिक्षक बन्नका लागि आवश्यक पर्ने विशेष सैद्धान्तिक ज्ञान, शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन र आधुनिक अध्यापन सीपबारे विद्यार्थीहरूलाई विस्तृत रूपमा जानकारी गराए ।


त्यसैगरी, कम्प्युटर प्रशिक्षक विशाल रिजालले सूचना प्रविधिको वर्तमान युगमा प्रविधिको ज्ञान अपरिहार्य रहेको चर्चा गरे । उनले पछिल्लो समय लोकसेवा तथा अन्य सबै सरकारी सेवाका विभिन्न परीक्षाहरू उत्तीर्ण गर्न र भोलि कार्यक्षेत्रमा कार्यसम्पादन गर्दा समेत कम्प्युटरको व्यावहारिक र आधारभूत ज्ञान अत्यावश्यक भइसकेको कुरामा विशेष जोड दिँदै विद्यार्थीहरूलाई प्रविधिमैत्री बन्न आग्रह गरे ।
पहिलो दिनको अभिमुखीकरण कक्षामा ५० जना लोकसेवाका आकांक्षी विद्यार्थीहरूको सहभागिता रहेको थियो । इन्स्टिच्युटले खरिदार, नायब सुब्बा, शिक्षक सेवा आयोग, तथा आधारभूत र मा.वि. लाइसेन्सका लागि आवश्यक अध्ययन सामग्री, नियमित नमूना परीक्षा र रचनात्मक पृष्ठ पोषणको समेत व्यवस्था गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *