तल्लो डुङ्गेश्वर–दुल्लु सडकखण्ड पूर्ण रूपमा सञ्चालन

मातृभूमी संवाददाता । ११ श्रवाण दैलेख
दैलेखको तल्लो डुङ्गेश्वरदेखि दुल्लु जोड्ने सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । वर्षातका कारण गएको पहिरोले उत्पन्न भएको अवरोध हटेसंगै यस सडकखण्डमा सवारी साधनहरू पुनः सुचारु भएका हुन् ।
पश्चिम दैलेखको मुख्य मार्गका रूपमा रहेको यो सडकखण्ड सञ्चालनमा आएसँगै दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका तथा अछाम जिल्लासम्म जाने यात्रुहरूलाई सहज भएको छ । यसअघि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प हुनुका साथै स्थानीय बासिन्दाले निकै सास्ती खेप्नुपरेको थियो ।
स्थानीय तह र सुरक्षा निकायको निरन्तरको प्रयासपछि सडकको पहिरो हटाई यातायात सेवा नियमित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । सडक खुलेसँगै यस क्षेत्रमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानी समेत सहज भएको उनले बताए । सडक सुचारु भए पनि कतिपय ग्रामीण तथा कच्ची खण्डमा अझै सडक साँघुरो र हिलो रहेकाले चालकहरूलाई विशेष सावधानी अपनाउन प्रमुख गुरुले आग्रह गरे ।
सवारी दुर्घटना न्यूनीकरणका लागि तीव्र गतिमा गाडी नचलाउन, क्षमताभन्दा बढी यात्रु नलिन र ट्राफिक नियमको पूर्ण पालना गर्न उहाँले चालक तथा यातायात व्यवसायीहरूलाई निर्देशन समेत दिए । यात्रुहरूको सुरक्षा र सहजताका लागि सडकखण्डका विभिन्न संवेदनशील स्थानहरूमा ट्राफिक प्रहरी टोली खटाई नियमित जाँच र निगरानी बढाइएको समेत प्रमुख गुरुले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *