नुवाकोटको विदुरमा बाढीको वितण्डा : दुई पक्की पुलसहित भौतिक संरचनामा ठुलो क्षति

मातृभूमी संवाददाता । १० भाद्र काठमाण्डाै
चीनको भूमि हुँदै रसुवाबाट सुरु भएको बाढीले नुवाकोटको विदुर नगरपालिकामा ठुलो भौतिक क्षति पुर्‍याएको छ । बाढीका कारण बुधबार नगरपालिकाका विभिन्न वडाका तटीय क्षेत्रहरू उच्च जोखिममा पर्नुका साथै भर्खरै निर्माण सम्पन्न भएका दुईवटा पक्की पुलसहित कैयौँ घरहरू बगाएको छ ।
विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीका अनुसार बाढीले विशेष गरी वडा नम्बर ४ को सिमचौर क्षेत्रमा ठुलो विनाश निम्त्याएको छ । उक्त क्षेत्रमा एक–दुई वर्ष अघि मात्रै शिलान्यास गरी निर्माण गरिएका दुईवटा पक्की पुल बाढीले बगाएको छ । बाढी बजार क्षेत्र र बस्तीमा पसेपछि त्यहाँ रहेका घरहरू, बैंक तथा अन्य भौतिक संरचनामा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।
बाढीको प्रभाव नगरपालिकाका विभिन्न वडाहरूमा फैलिएको छ । उपमेयर बोगटीले दिएको जानकारी अनुसार वडा नम्बर ७ को सोले बजार, चतेपानी र अकरे, वडा नम्बर १० को बेत्रावती बजार, वडा नम्बर १ को त्रिशूली, ढुङ्गे र इनारपाटी क्षेत्र बाढीबाट नराम्ररी प्रभावित भएका छन् । यस्तै, वडा नम्बर ५ को देवीघाट र तल्लो क्षेत्रमा रहेको तिरखानीमा समेत बाढीले ठुलो नोक्सानी पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताइन् ।
बाढीले भौतिक संरचनामा अपूरणीय क्षति पुर्‍याए पनि हालसम्म मानवीय क्षतिको भने कुनै आधिकारिक पुष्टि हुन सकेको छैन । “भौतिक संरचनामा ठुलो क्षति भएको छ, मानवीय क्षतिको आकलन गरिए पनि हालसम्म कोही भेटिएका वा सम्पर्कविहीन भएको किटान हुन सकेको छैन,” उपमेयर बोगटीले भनिन् ।
अहिले नगरपालिकाले स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकता दिएको छ । बाढीको सतह बढ्दै गएपछि तटीय क्षेत्रका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । राजमार्गमा गुड्ने सवारी साधनहरूलाई पनि सुरक्षित स्थानमा होल्ड गरिएको छ । सुरक्षाकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएका छन् र क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *