कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ

मातृभूमी संवाददाता । ०५ बैशाख दैलेख
नेकपा एमालेबाट फ्लोर क्रस गरी भोट हालेर मन्त्री बनेका कर्णाली सरकारका तीन नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाहीले आइतबार साँझ सपथ लिएका छन् ।
नवनियुक्त तीनै जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ खुवाएका हुन् । सपथग्रहणसँगै तीनै जना मन्त्रीले मन्त्रालयको कार्यभार सम्हालेका छन् । अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसदमध्ये तीनजनालाई शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियूक्त गरेका थिए ।
नवनियुक्त तीनै जना मान्त्री नेकपा एमालेको माधव कुमार नेपाल समूहका सांसद हुन् । नयाँ मन्त्री बनेका तीनै जनाले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । पार्टीको ह्विप विपरीत शुक्रबार मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले प्रदेश कमिटीले तीन जना सांसदलाई शनिबार कारबाही गरिसकेको छ ।

भौतिक पूर्वाधारमन्त्री थापा

नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित सांसद हुन् । वि.स. २०३६ सालमा भएको जनमत संग्रहमा सक्रिय सहभागी थापाको राजनीतिक पृष्ठभूमि तुलनात्मक रूपमा केही लामो छ ।
२०२९ सालमा जिल्ला सभाको सदस्य भएका उनी २०४२ सालमा वामपन्थी राजनीतिमा लागेका हुन् । २०४८ सालमा एमालेमा आबद्ध भएका उनी संविधानसभा सदस्य समेत हुन् । उनले १३ महिना हिरासत र डेढ महिना जेलजीवन बिताएका छन् ।
थापाले माध्यमिक शिक्षा पास गरेका छन् । आमा सावित्री र बुबा पठे थापाको कोखबाट २०१२ सालमा दैलेखको भगवतीमाई गाउँपालिका १ पग्नाथमा उनको जन्म भएको हो ।

कृषिमन्त्री बुढा

नवनियुक्त कृषि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नन्दसिं बुढा डोल्पा प्रदेशसभा (ख) बाट निर्वाचित सांसद हुन् । उनको सक्रिय राजनीति यात्रा धेरै लामो भने छैन ।
२०५८ सालदेखि नेपाल निजामति कर्मचारी संगठन डोल्पाबाट उनले राजनीति सुरु गरेका हुन् । २०६३ सालदेखि एमालेको सक्रिय राजनीतिमा संलग्न भएका उनी यसअघि कणर्ाली प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री थिए ।
उनले २०७० सालमा एमाले डोल्पाको पार्टी सचिव भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका छन् । आमा चन्द्रकुमारी र बुवा धनराम बुढाथोकीको कोखबाट २०३२ साल बैशाख १७ गते ठूलोभरी नगरपालिका-४ दुनैमा उनको जन्म भएको हो ।

पर्यटनमन्त्री शाही

नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाही कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित सांसद हुन् । २०४९ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गरेका शाही लामो समय एमालेको सक्रिय राजनीतिमा लागिरहेका छन् ।
२०५७ देखि २०६५ सम्म एमाले कालिकोटको पार्टी उपसचिव, २०६६ मा जिल्ला कमिटी सचिव, २०६८ सालमा एमाले कालिकोटका अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले अर्थशास्त्र र अंग्रेजीमा स्नातक गरेका छन् ।
आमा मैनकला र बुवा पदमबहादुर शाहीको कोखबाट २०२८ साल बैशाख ८ गते शुभकालिका गाउँपालिका-४ कालिकोटमा उनको जन्म भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *