दैलेखमा स्वास्थ्य चौकी तोडफोड

मातृभूमी संवाददाता । १९ साउन दैलेख
दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकाको एक स्वास्थ्य चौकीमा तोडफोड भएको छ । आठवीस नगरपालिका ५ पिपलकोटमा रहेको स्वास्थ्य चौकीमा तोडफोड भएको हो । स्वास्थ्य चौकी तोडफोड गरेर ल्यापटप सहित औषधि लगायतका सामग्री चोरी भएको छ ।
आठबीस नगरपालिका ५ का वडाध्यक्ष कणर्बहादुर आलेका अनुसार स्वास्थ्य चौकीको झ्याल फोडेर भित्र पसी फेरि तीनवटा ढोका फोडी सामग्रीहरु तोडफोड गर्नुका साथै ल्यापटप र औषधी चोरी भएको छ ।
स्वास्थ्य चौकीको केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानीटाइजर, न्यानो झोला, साबुन, कोलगेट, कापी डट्पेन चोरी भएको वडाध्यक्ष आलेले बताए ।
उनका अनुसार मोबाइल चार्जर र छाता समेत चोरी भएको छ । स्वास्थ्य चौकीको ५ वटा दराज र ३ वटा टेबल कामै नलाग्ने गरी तोडफोड भएको वडाध्यक्ष आलेले जानकारी दिए । उनका अनुसार प्रारम्भिक रुपमा स्वास्थ्य चौकीमा झण्डै ३ लाख बराबरको सामाग्री तोडफोड र चोरी भएको छ ।
‘सोमवार राती नै स्वास्थ्य चौकी तोडफोड भएको हुनसक्छ,’ वडाध्यक्ष आलेले भने ‘स्वास्थ्य चौकीका लागि नयाँ भवन निर्माणको काम चलिरहेको छ, मंगलवार विहान कामदारहरु आएर निर्माण सामग्रीहरु निकाल्न भवनको मुल ढोका खोल्दा भित्र तोडफोड हुनुका साथै सामान चोरी भएको थाहा भएको हो ।’
स्वास्थ्य चौकीमा ३ जना अहेव २ जना अनमी, १ जना ल्याबका कर्मचारी र एक कार्यालय सहयोगी कार्यरत रहेको अहेव जीवनकुमार बस्नेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *