यातायातलाई व्यवस्थित गर्ने अन्तरजिल्ला सुरक्षा वैठकको निर्णय

मातृभूमी संवाददाता । २८ पुष सुर्खेत
सुर्खेतमा बसेको दैलेख र सुर्खेतका सुरक्षा अधिकारीहरुको अन्तर जिल्ला सुरक्षा बैठकले यातायात व्यवस्थापनलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बसेको बैठकले सडक सुधार र सडक दुर्घटना रोकथाम सवालमा चासो दिएको हो ।
यातायाय व्यवसायीले तोकिएको भन्दा बढी भाडा उठाएमा कारवाही गर्ने, नयाँ सडकहरुमा यातायात संचालनका लागि रुट प्रमिट दिने, दुर्घटना न्यूनीकरणका निम्ति चालकले मादक पदार्थ सेवन वा लागु औषध प्रयोग गरे नगरेको चेकजाँचमा कडाई गर्ने र क्षमता भन्दा बढी यात्रु बोक्न नदिने निर्णय गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।
बैठकले दैलेख–सुर्खेत यातायातमा ६ सय ३५ रुपैंयाँ भाडा लिदै आएकोमा ५ सय ५० रुपैंयाँ र सुर्खेतदेखि कुसापानीसम्मको १ हजार १ सय रुपैंयाँ भाडा लिने गरेकोमा उक्त भाडामा घटाएर ९ सय रुपैंयाँ कायम गरिएको प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।
बैठकमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसी, सुर्खेतका प्रहरी इञ्चार्ज एसपी रुपेश खड्का, कालिदत्त गुल्म दैलेखका सेनानी सुमन कार्की, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहाल, सशस्त्र प्रहरीका डीएसपी चन्द्रबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *