प्रेस सेन्टर दैलेखले पेसागत सुरक्षाको माग गर्दै बुझायो ज्ञापन पत्र
जित बहादुर थापा (रोशन) । २८ वैशाख दैलेख
प्रेस सेन्टर नेपाल दैलेखले जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत ज्ञापन पत्र बुझाएको छ । संघ, प्रदेश र स्थानीय सरकारलाई विभिन्न माग राख्दै सेन्टरले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे मार्फत ज्ञापन पत्र बुझाएको हो ।
संघ, प्रदेश र स्थानीय तहमा सञ्चारसँग सम्बन्धित कानुन निर्माणमा भएको ढिलाइ, प्रस्तावित विधेयकहरूमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने प्रवृत्ति, पत्रकार माथिका आक्रमण र पेसागत सुरक्षा लगायतका विषयप्रति गम्भीर हुँदै ज्ञापन पत्र बुझाइएको प्रेस सेन्टर नेपाल दैलेखका अध्यक्ष तीर्थ भण्डारीले जानकारी दिए ।
प्रेस सेन्टरले समग्र विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेसागत हक–हित, सञ्चार क्षेत्रको प्रवर्दन गर्दै आएकोमा विद्यमान समस्याहरूकाे हल गर्न ध्यानाकर्षण गराउनका लागि ज्ञापन पत्र बुझाइएको उनले बताए । प्रेस सेन्टरले संविधान कार्यान्वयनका लागि बन्नुपर्ने सञ्चार नीतिहरू अहिले पनि सरकारको प्राथमिकतामा नपरेकाले तत्काल संविधानको भावना अनुसार पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माण गर्नुपर्ने माग राखेको छ ।
लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शतप्रतिशत वृद्धि र विज्ञापन ऐनमा भएको व्यवस्था अनुसार तत्काल सबै प्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन वितरण प्रणाली लागू गर्न, स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन र केन्द्रबाट वितरण हुने सरकारी विज्ञापन स्थानीय तहका सञ्चारमाध्यमले समेत पाउने गरी समानुपातिक वितरण प्रणाली लागू गर्न पनि माग गरेकाे छ ।
त्यस्तै पत्रकार स्वास्थ्य बिमा र जीवन बिमाको व्यवस्था गर्न, सञ्चारकर्मीहरूले खरिद गर्ने सञ्चार सामग्री अनुदान र सञ्चार गृहका लागि सवारी साधन खरिद प्रक्रियामा भन्सार कर छुटको व्यवस्था, सञ्चार उपकरणमा बिमाको व्यवस्था गर्न, सञ्चारका विभिन्न माध्यम मार्फत संविधानमाथि भइरहेको प्रहारलाई रोक्न र आगामी वर्षको बजेटमा स्थानीय तहसम्मै स्थानीय सञ्चारको प्रवर्दन, सीप अभिवृद्धि तथा पत्रकार संगठन सुदृढीकरणका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।
यसका साथै जिल्लाका कुनै पनि स्थानीय तहहरूमा अहिलेसम्म लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि निर्माण नभएको हुँदा तत्काल कार्यविधि बनाएर पारदर्शी विज्ञापन वितरण सुनिश्चित गर्न, समाचारको विषयमा पत्रकारमाथि भइरहेका आक्रमण, धम्की, मानमर्दन जस्ता घटनाहरूको अन्त्य गर्न र पत्रकार सुरक्षाको प्रत्याभूति गर्न, सबै सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयन गर्न र जिल्ला बाहिर जाने विज्ञापनलाई रोकी जिल्लाकै सञ्चार माध्यमलाई दिन समेत माग गरेकाे छ ।
जिल्ला प्रशासनमा बुझाएको ज्ञापन पत्रमा सबै स्थानीय तहलाई बोधार्थ राखिएको अध्यक्ष खड्काले जानकारी दिए । केन्द्रीय कार्यक्रम अनुसार देशभरका पालिका, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई एकै पटक ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रेस सेन्टर दैलेखका निवर्तमान केन्द्रीय सचिव नवीन रिजाल, जिल्ला अध्यक्ष तीर्थ भण्डारी लगाएतको सहभागीता रहेको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गैह्रेले प्रेस सेन्टरले उठाएका मागहरू जायज र समय सान्दर्भिक भएको भन्दै ज्ञापन पत्रलाई सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

