तरकारी खेतीमा रमाउँदै विष्ट

मातृभूमी संवाददता । १७ जेठ दैलेख
डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीका ४५ वर्षीय इन्द्र बहादुर विष्ट तरकारी खेतीमा रमाई रहेका छन् । विष्टले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेशा शुरू गरेका हुन् । लाकुरीको ७ रोपनी जग्गामा उनले काँक्रा, टमाटर, भेन्टा, बन्दा, लौका, फर्सी, खुर्सानी लगायत तरकारी लगाई रहेका छन् ।
गएको वर्ष विष्टले ३ लाखको तरकारी तथा फलफुल बिक्री गरेका थिए । शुरु–शुरुमा आफुलाई खानका लागि तरकारी तथा फलफुल उत्पादन गरेपनि पनि अहिले व्यवसायीक रुपमा खेती गरिरहेको विष्टले बताए । ‘गएको वर्ष अलि अलि फलेको तरकारीबाट ३ लाख रुपैयाँ आम्दानी भयो’ उनले भने ‘यो वर्ष धेरै तरकारी लगाएको छु, उत्पादन भएको सबै तरकारी बिक्री हुँदा ५ लाख जति आम्दानी हुन्छ’ ।
गएको वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष तरकारी खेति बढाएको विष्टले बताए । यो सिजनका लागि काँक्रा तयार भइसकेका छन् । उनले यो सिजनमा पाँच छ क्विन्टल काँक्रा बिक्री गरिसकेको बताए । काँक्रो खानाको साथै विवाह, मेला महोत्सव तथा पुजापाठका लागि विक्रि हुने गरेको विष्टले वताए ।
उनको बारीमा उत्पादन भएको तरकारी तथा फलफुल स्थानीय देउली बजार, चुप्रा बजार लगाएत दैलेख सदरमुकाम र सुर्खेतसम्म पुग्ने गरेको छ । परिवारका २ जना बाहेक थप १ जनालाई मासिक तलबमा रोजगारी समेत दिएको विष्टको भनाई छ ।
पछिल्लो समय देशमा रोजगारी नहुँदा युवाहरु विदेश पलायन भैरहेको बेला विष्टको लोभ लाग्दो तरकारी खेतीले युवाहरुलाई प्रेरणा मिलेको स्थानीय युवाहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *