किसानलाई राहत वितरण गर्ने
मातृभूमी संवाददाता । २२ जेठ दैलेख
कृषि विकास कार्यालय दैलेखले कृषि क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक विपदवाट प्रभावित किसानलाई राहत वितरण गर्ने भएको छ । कृषि विकास कार्यालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम ५२ लाख १ हजार रुपैँया राहत रकम वितरण गर्ने भएको हो ।
राहत रकम वितरणको लागि आर्थिक वर्ष २०८१/०८२ मा मन्त्रालयले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई कर्णाली प्रदेश सरकारको राहत वितरण कार्यविधि अनुसार स्वीकृत गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिए ।
नारायण, आठबीस, चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरवी, ठाँटीकाध, डुङ्गेश्वर, नौमुले, महाबु र गुराँस गाउँपालिकामा राहत रकम उपलब्ध गराउने निर्णय भएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।
राहत रकम प्राप्त गर्नका लागि किसानले निवेदनका साथै विपद्को घटना खुल्ने प्रहरी मुचुल्का, सम्बन्धीत स्थानीय तहको सिफारीस, सम्बन्धित कृषि ज्ञान केन्द्रको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, कुनै निकायवाट राहत नलिएको प्रमाणका साथ क्षति देखिने फोटो वा भिडियो अनिवार्य पेश गर्नुपर्ने प्रावधान रहको कार्यालय प्रमुख पाण्डेले वताए ।
राहत रकम यही जेठ २५ गतेदेखी ३० सम्म सम्वन्धित किसानहरूलाई वितरण गरिने कृषि विकास कार्यालय दैलेखका कृषि अर्थ विज्ञ झलक भण्डारीले जानकारी दिए ।

